नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने

बाँकेको नरैनापुर गाउँपालिकामा सेना परिचालन गरिने भएको छ।  

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गर्ने निर्णय गरेको हो। 

नरैनापुरमा सुरक्षामा खटिएका एक जना प्रहरी जवानमा समेत संक्रमण देखिएको छ भने अन्य ११४ जनामा कोरोना संक्रमण देखिएको छ।  उनीहरु मध्ये एकको मृत्यु भएको छ। 

भैरवनाथ गणका गणपति प्रमुख सेनानी नहकुल थापाका अनुसार नरैनापुरमा सेनाका साथ विशेषज्ञ चिकित्सकसहित थप स्वास्थ्यकर्मी पनि परिचालन गरिनेछ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको बिएल नेपाली सेवालाई जानकारी दिए।

शानिबार मात्रै नरैनापुर गाउँपालिका कोरोना संक्रमण नियन्त्रण बाहिर गएको र स्थानीयको समेत सहयोग नभएको अवस्थामा गाउँपालिकाले अहिलेको अवस्था धान्न नसकिने भन्दै उच्च स्तरीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यवस्था गरिदिन प्रदेश र संघीय सरकारलाई गुहार मागेको थियो। 

गाउँपालिकाको उक्त आग्रह पछि मात्रै जिल्ला सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने र निषेधित क्षेत्र घोषणा गरेको हो। 

पछिल्लो समय कोरोना संक्रमितलाई आइसोलेशनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गरिएको प्रजिअ खड्काले बताए।


 

प्रकाशित मिति: : 2020-05-24 18:27:26

प्रतिकृया दिनुहोस्