मेराे सरकार आएपछि मात्रै नेपालले सागमा ५१ स्वर्ण हात पार्‍याे: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार आएपछि  १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलमा नेपालले ५१ स्वर्ण पदक हात पारेको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका हुन्।

‘१२ औं सार्कमा ३ स्वर्ण पदक नेपालले ल्याएको थियो। यो सरकार आएपछि ५१ स्वर्ण पदक हात पार्यो,’उनले भने।

उनले यो सबै आफ्नो सरकारले खेलाडीहरुलाई जगाएको उच्च मनोवलको प्रतिफल भएको दाबी गरे।

गत मंसिर १५ गते देखि २४ सम्म आयोजना भएकाे सागमा नेपालले ५१ स्वर्ण जितेको थियो, जुन अहिलेसम्मकै बढी हो ।

यसले नेपाललाई साग इतिहासमा दोस्रो पटक पदक तालिकामा दोस्रो स्थानमा पुर्‍याएको थियो । नेपालले ६० रजत र ९५ कांस्यसहित कुल २ सय ६ पदक जितेको थियो । नेपालले एकै संस्करणमा अहिलेसम्मकै बढी पदक जितेको हो ।

प्रधानमन्त्री ओलीले स्वर्ण विजेतालाई ९, रजतलाई ६ र कास्य विजेतालाई ३ लाख दिने घोषणा गरेका थिए । यसअघि सागमा स्वर्ण जित्नेलाई ५, रजतलाई ३ र कांस्यलाई १ लाख दिँदै आएको थियो । 

ओलीले एक वा भन्दा बढी स्वर्ण पदक विजेता खेलाडीलाई ११ लाखका दरले पुरस्कृत गरिने जनाएका थिए ।

प्रकाशित मिति: : 2020-05-19 13:40:33

प्रतिकृया दिनुहोस्