भारतबाट आएका थिए बाँके, नरैनापुरका कोरोना संक्रमित

शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय भारतबाट आएको पाइएको छ।  उनी एक साता अघिमात्र भारतका विभिन्न प्रदेशबाट आएको र सबैजना मजदुर रहेको गाउँपालिकाले जनाएको छ।

केही दिनअघि करिब ४५ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। गाउँपालिकाका सूचना अधिकारी लक्ष्मी कान्त मिश्राका अनुसार अहिले उनीहरूको कन्ट्याक पहिचान गर्ने काम भइरहेको छ। संक्रमित भेटिएका गाउँमा कडाई सुरू भइसकेको उनले जानकारी दिए।

बिहिबारसम्मको तथ्यांकअनुसार अनुसार नरैनापुरमा भारतका विभिन्न ठाउँबाट करिब पाँच सय जनाको हाराहारीमा नागरिक आएको गाउँपालिकाले जनाएको छ। उनीहरूलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ। ‘भारतबाट आएका सबै क्वारेन्टाइनमा छन्। ११ वटा क्वारेन्टाइन प्याक भइसके। शुक्रबार पनि झण्डै  सय जना भन्दा बढीलाई दशगजाबाट ल्याउने तयारी भइरहेको छ। थप एक क्वारेन्टाइन थप्ने प्रक्रिया सुरू भइसकेको छ’, बिएल नेपाली सेवासँग कुरा गर्दै मिश्राले भने।

मिश्राका अनुसार आज पुष्टि भएका संक्रमितहरूमा बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजहरू १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुष छन्।

नरैनापुरमा भारतका महाराष्ट्र, गुजरातलगायतका राज्यबाट नागरिक अहिले पनि आइरहेका छन्। यससँगै बाँकेमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ। अन्य २५ संक्रमित नेपालगञ्ज उप-महानगरपालिकाका हुन्।

संक्रमित सबैको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। यहाँ गत बैशाख १९ गते पहिलो पटक एक ६० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी पनि भारतबाटै आएका थिए।

प्रकाशित मिति: : 2020-05-15 10:19:11

प्रतिकृया दिनुहोस्