अमेरिकाको न्युयोर्क राज्यमा कोरोना भाइरसबाट हुने मृत्युदरमा लगातार कम भइरहेको बताइएको छ। न्युयोर्कका गभर्नर एन्ड्रयू क्यूमोले यसबारे जानकारी दिएका हुन्।
कोरोना महामारीको उच्च तह पार गरेपछि न्युयोर्कले अब आर्थिक गतिविधि सुचारु गर्ने तर्फ ध्यान दिन थालिएकाे छ।
गभर्नर कुओमोले राज्यका आर्थिक गतिविधिहरु चरणबद्ध रुपमा खुला गर्ने बताएका छन्। यस अन्तर्गत सुरुमा निर्माण तथा उत्पादन क्षेत्र सञ्चालन गर्न दिइने गभर्नर कुओमोले बताए। कुओमोले व्यवसाय पुनः सञ्चालन गर्ने रणनीतिको समयक्रम भने सार्वजनिक गरेका छैनन्। तर राज्यका केही क्षेत्रहरु मे १५ भन्दा पहिले नै सञ्चालन हुने उनले उल्लेख गरेका छन्।
व्यवसाय सञ्चालन गर्दा कोरोनाको संक्रमण तथा त्यसबाट अस्पताल भर्ना गर्नु पर्ने बिरामीको संख्यामा बृद्धि भयो वा भएन भन्ने हेरिने उनले नियमित ब्रिफिङ्गको क्रममा बताएका हुन्।
शनिबार न्युयोर्कमा ३६७ जनाको मृत्यु भयो। शुक्रबार न्युयोर्कमा जहाँ ४ सय ३७ को मृत्यु भएको थियो भने शनिबार ३ सय ६७ को मृत्यु भयो।यस्तै राज्यमा संक्रमितको संख्या दुई लाख ९९ हजार भन्दा बढी पुगेको छ।
यस्तै लगातार अस्पताल भर्ना गर्नु पर्ने बिरामीको संख्या पनि कम भएको छ। यस्तै संक्रमणको दर राज्यमा ०.८ प्रतिशतमा झरेको पनि गभर्नर कुओमोले जानकारी दिएका छन्।
जनतालाई अनिश्चितकालसम्म घरमा बस्न र गर्मीमा पनि केही नगर भन्नु असम्भव हुने क्यूमोले बताए।
उनले एक रिपोर्टतर्फ ध्यान केन्द्रीत गराउँदै घरेलु हिंसा, लागुऔषध र रक्सी सेवन गरेर हिंसा र मानसिक स्वास्थ्यको समस्या बढिसकेको जानकारी दिएका छन्।