क्वारेन्टाइनमा बसेका भन्छन्, ‘प्रधानमन्त्रीज्यू, छिटो घर जान पाऊँ’

बाँकेको नेपालगञ्ज उप –महानगरपालिका– १६  सुख्खा बन्दरगाहा जयसपुरको दशगजास्थित क्वारेन्टाइनमा बसेका नेपाली नागरिकहरुले आफूहरुले घर जान पाउनु पर्ने माग गरेका छन्। १४ दिनको क्वारेन्टाइन समय बिताएका उनीहरुले स्थानीय सरकारमार्फत घर जान पाउनु पर्ने माग गरेका हुन्।  

क्वारेन्टाइनमा बसेको २१ दिन पुग्ने बित्तिकै सेनिटाइजरसहित निःशुल्क रुपमा सुरक्षित साथ घरमा पुर्‍याउने व्यवस्था हुनुपर्ने उनीहरुको माग रहेको छ। क्वारेन्टाइनमा बसेका १ सय ८१ जनाको मागपत्र आइतबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले  पीडितहरुको तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कामार्फत प्रधानमन्त्री तथा परिषद्को कार्यालयलाई पाँच बुदेँ माग सहित ध्यानाकर्षण पत्र बुझाएका छन्। 

१४ दिनको क्वारेन्टाइन समय पुरा गरि १ सय ८१ जना कै रिपोर्ट ‘नेगेटिभ’ आइसकेको तथा विगत एकसाता देखि बिना परिक्षण, बिना सुविधा गृह मन्त्रालयको आदेश भन्दै फेरी क्वारेन्टाइनमा राखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। 

सयुंक्त  विज्ञप्तिमा  विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालय बाँकेको नियमानुसार १४ दिन क्वारेन्टाइनमा बसेको, १५ औँ दिनमा नेगेटिभ रिपोर्ट आएर प्रमाणपत्र समेत प्राप्त गरिसकेको उल्लेख गरिएको छ।

‘सम्पूर्णलाई घर पठाउने भनि जिल्ला प्रशासन कार्यालयले गाडी पठाएको तर १० मिनेट नबित्दै गृह मन्त्रालयको आदेश भन्दै फेरी २१ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ  भनिएको छ।  नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेले  विगत ४ दिनदेखि कसैको पनि स्वास्थ्य परिक्षण  नगरेको जानकारी गराउँछौ।  आखिर के कारणले हामीलाई फेरी क्वारेन्टाइनमा राखियो त ?’ उक्त विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य परिक्षण नै नगर्ने भए यहाँ किन राखेको भन्दै प्रतिप्रश्न सोधिएको छ। यदि आफूहरुको माग सम्बोधन नभएर कडा भन्दा कडा आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ। 
 

प्रकाशित मिति: : 2020-04-19 19:55:51

प्रतिकृया दिनुहोस्