‘के भअ ? नछुनी भइस् ?’ आमाका आँखामा अनौठो दह जमेको थियो । आमाले कसरी थाहा पाउनुहुन्थ्यो कुन्नि मेरो अवस्था ! ‘अँ’ मेरो अनुहार रातो भयो, आवाज अड्किए जस्तो लाग्यो। अनुहार झुक्यो। मानौँ मैले कुनै ठूलो अपराध गरेँ। मैले बिस्तारै टाउको उठाएँ। आमाले काखमा लिएको भाइलाई नजिकै झुन्डिएको पेटीकोटले छोप्नुभयो। ‘लौ, हेर्नहुन्न ! उताको कोठामा बस्दै गर।’
विद्यालयमा त रजस्वलाका बारेमा कुनै शिक्षा दिने चलन थिएन भने अशिक्षित आमालाई समाजले जे सिकायो त्यही गर्नुहुन्थ्यो। म चुपचाप उभिइरहेँ। आमाले बाथरुम नजिकैको पाहुनाकोठा देखाउनुभएको थियो। मनभरि केके मडारिएको जस्तो भयो। हातखुट्टा झन् चिसा भए। लगाएका लुगा आधासरो भिजेका थिए। म कोठामा बन्दी भएँ, त्योभन्दा बढी आफ्नै उत्सुकताको अनौठो उपत्यकामा घेरिएँ। मसँग हजार प्रश्नहरू थिए तर न बोल्ने आँटिलो आवाज थियो न सुन्ने कान थिए। कोठाको झ्यालबाट बाहिर हेरिरहेँ, असारे झरी रोकिन लागेको थियो। जेटिएसको परिसरमा परपर थिए आवासीय घरहरू। म थुनिएको कोठाको झ्यालबाट देखिन्थ्यो कोप्रोन्सिपलको क्वाटर, हाम्रो जस्तै जुम्ल्याहा घर ! त्यहाँ स्विस बस्थे।
११०औँ श्रमिक महिला दिवसका दिन सम्झेँ– आमाको बोल्डनेस, निर्णय क्षमता अनि कर्मशील स्वभाव ! १५ वर्षको उमेरमा बिहे भएपछि उहाँले बुवाको एक्लो जीवन र रित्तो घरलाई सम्हाल्नुभयो। टुहुरो बुवाको सहारा मात्र बन्नुभएन, घरको सम्पूर्ण उत्तरदायित्व आफ्नै काँधमा बोकेर बुबालाई पढ्न पठाउनुभयो। बुबाले गाउँको स्कुलबाट एसएलसी र अमेरिकी विश्वविद्यालयबाट पिएचडी गर्दासम्म मात्र होइन, गाउँको विद्यालयको शिक्षक हुँदै एउटा सफल प्राविधिक शिक्षाविद् हुँदासम्म मेरी आमा पारिवारिक जिम्मेवारीको दरिलो आड बन्नुभयो। पढ्ने चाहना भएर पनि कहिल्यै स्कुलको मुख देख्न नपाएकी मेरी आमाको चाहना थियो, आफूले पढ्न नपाएकै कारण छोरीले धेरै पढोस्। उहाँले पढ्न र केही हिसाब गर्न मसँग सिक्नुभयो। उहाँको घरायसी श्रम र पारिवारिक जिम्मेवारीको मूल्यांकन मात्र गर्ने हो भने बुबाले गरेको कमाइभन्दा पक्कै कम हुन्न।