कोरोनाकाे भय: विद्यालय तत्काल बन्द गर्न कांग्रेस सांसदको माग

नेपाली कांग्रेसका सांसदहरुले विद्यालय तत्काल बन्द गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरु भरतकुमार शाह र भीमसेनदास प्रधानले कोरोनाबाट बच्न सतर्क हुनुपर्ने भन्दै  विद्यालय तत्काल बन्द गर्न माग गरेका हुन् ।

‘कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला विद्यालय बन्द नगर्दा संक्रमण फैलिन्छ। संक्रमण भयो भने गाह्रो हुन्छ ।’ सांसद प्रधानले भने ।

विश्व स्वास्थ्य संगठनले महामारीका रुपमा घोषणा गरेको र युरोप अमेरिकाले लक डाउन गरिसकेको अवस्थामा नेपालमा संसद चलाइरहनुको तुक नभएको पनि उनले बताए ।

‘अमेरिका त्रसित छ, युरोप त्रसित छ तर नेपालसँग केही छैन । नेपालले के हेरेर बसेको छ यस्तो अवस्थामा ? त्यसकारण सरकार चाँडोभन्दा चाँडो एक्सनमा आएर संसदसहित मास ग्यादरिङ हुने ठाउँ रोक्न सकेन भने यसबाट आउने भयावह स्थिति रोक्न सकिँदैन धेरै मानिसहरुको मृत्यु हुन्छ, ’ प्रधानको भनाइ छ ।

यस्तै, शून्य समयमा बोल्दै कांग्रेसका अर्का सांसद भरत शाहले पनि संसद बन्द गर्न आग्रह गरे, ‘संसदलाई धेरै दिन नचलाउने हो कि ?’

उनले सदलाई निरन्तर चलाइराख्नुको कुनै तुक नभएको बताए। ‘यस्तो ठाउँमा संक्रमण फैलने सम्भावना धेरै हुन्छ । हामीलाई संक्रमण भयो भने गाह्रो हुन्छ । चाँडोभन्दा चाँडो संसद बन्द गर्नुपर्‍यो,’ उनले भने ।

यसअघि पनि सांसदहरुले कोरोनाका कारण संसद रोक्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति: : 2020-03-13 00:55:46

प्रतिकृया दिनुहोस्