पारिवारिक जिम्मेवारी, घर्किंदो उमेर, व्यापार-व्यवसाय वा जागिर। यी सबैमा बाँधिएपछि विश्वविद्यालय गएर पढ्ने फुर्सद कमै हुन्छ। फुर्सद नभए पनि ज्ञानको भोक कहाँ मेटिन्छ र! त्यसमाथि जागिरको बढुवामा अनुभवसँगै शैक्षिक योग्यता पनि त मूल्यांकन गरिन्छ!
यस्तै स–साना व्यस्ततालाई ध्यानमा राखेर संसारभरि खुला विश्वविद्यालयको अवधारणा सुरू भएको हो।
'द ओपन युनिभर्सिटी यूके' विश्वकै पहिलो खुला विश्वविद्यालय मानिन्छ। सन् १९६९ मा खुलेको यो विश्वविद्यालयमा विश्वभरका एक लाख ६८ हजार विद्यार्थी सामेल छन्। यो विश्वविद्यालय सुरू भएको लगभग ५० वर्षपछि नेपालमा पनि खुला विश्वविद्यालय सञ्चालनमा आएको छ।
०७४ सालमा स्थापना भएको नेपाल खुला विश्वविद्यालय (एनओयु) ले विभिन्न संकाय गरी १७ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ। देशभरका करिब एक हजार तीन सय विद्यार्थीले आफ्नो सिट सुरक्षित गरको एनओयुका उपकुलपति लेखनाथ शर्मा बताउँछन्।