नेकपा केन्द्रीय कार्यालय, धुम्बाराही। तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको स्मृतिमा सभाहल भीडले खचाखच थियो। प्रमुख अतिथि थिए– नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।
बिहानको सवा दश बजे ‘जनआन्दोलन र जनयुद्धका शहीदको श्रद्धाञ्जली’ कार्यक्रम जारी थियो। प्रचण्ड सदाबहार भाषण गर्दै थिए– एमाले र माओवादीलाई अन्तर्घुलन गरेर मजबुत कम्युनिष्ट पार्टी बनाऊँ।
माओवादीबाट पतिको हत्या गरिएकी शान्तिमाया तामाङ पाख्रिन भने बेचैन देखिन्थिन्। उनी नेकपाको तर्फबाट संघीय संसद्की सदस्य हुन्। जिल्ला कमिटी दोलखाकी सदस्य पनि।
पोहोर साल उनी जिल्ला थिइन्। त्यसैले ‘जनयुद्ध दिवश’ मा अनुपस्थित रहिन्। यसपालि काठमाडौंमै भएका कारण नेताले के बोल्छन् भन्ने उत्सुकता उनमा थियो।
‘जनयुद्ध दिवश’ मनाउन केन्द्रीय कार्यालय परिसरमा साविक माओवादी कार्यकर्ताको ठूलो भीड थियो। पूर्वएमाले अलि कम देखिन्थे। केहीले रातो टीका लगाएका थिए। मञ्चमा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको उपस्थिति थियो।
शान्तिको मन भने अस्थिर थियो। उनको अनुहारमा जनयुद्धको पीडाको डोबहरू झल्किन्थ्याे। घटना हो, १७ वर्ष पुरानो।
प्रायः द्वन्द्वको घाउ बोकेर हिँडेका आम नागरिकलाई पीडाबोध हुने प्रश्न म सोध्दिनँ। तर, ‘जनयुद्ध दिवश’ मा अनौठौं संयोग जुरेपछि शान्तिमायासँग प्रश्न नगरी बस्न सकिनँ, ‘यो दृश्य देख्दा तपाईंलाई कस्तो महसुस भइरहेको छ?’
उनले जवाफ फर्काइन्, ‘नाटक मञ्चन भइरहेको छ। यसले मजस्ता शहीद परिवारको घाउमा नूनचुक छर्ने काम गरेको छ।’
दुवै पार्टी मिलाएर नेकपा गठन गरेका छन्, नेताले। आफूसँगै सुतेका पति रातको समयमा खोसेर हत्या गर्ने व्यक्ति उनकै नेता बनेका छन्। शान्तिमाया तिनैको भाषणमा ताली बजाउनुपर्ने हालतमा पुगेकी छिन्।
कार्यक्रमका प्रमुख अतिथि भनेर प्रचार गरिएका प्रधानमन्त्री केपी शर्मा ओली गएनन् । उपाध्यक्ष वामदेव गौतमले सम्बोधनका क्रममा भने, ‘त्यसबेला माओवादीबाट मारिएका करिब तीन सय एमालेका नेता–कार्यकर्तालाई पनि आजको दिनमा स्मरण गर्नुपर्छ ।’ गौतमको सम्बोधनले शान्तिमायाको मनमा केही मल्हमपट्टी गर्याे।
कहालीलाग्दो त्यो घटना
२०५९ मंसिर ९ गते । त्यस्तै रातको साढे ८ बजेको थियो। माओवादीका केही मान्छे उनको घरमा प्रवेश गरे। एक घन्टासम्म गलफत्ती भयो। त्यसपछि उनका पति बुद्धिमानलाई घरबाट लिएर गए।
ओछ्यानबाट उठाएर लगेका पति बुद्धिमानको शव ६ दिनपछि क्षतविक्षत अवस्थामा भेटियो। ‘बुद्धिमानजीलाई लैजाने बेलामा म आफैँले दोहोरो सम्वाद गरेकी थिएँ ती महिलासँग। उनी पार्टीमा अहिले मभन्दा माथिल्लो तहकी नेता छिन्’, शान्तिमाया गम्भीर भइन्।
‘जनयुद्ध दिवश’ मा शान्तिमायाले सम्झिइन्, पति बुद्धिमानको शव। ‘त्यो हत्या कसरी बिर्सन सक्छु र?’ शान्तिमायाले भनिन्, ‘माओवादी दबदबाको समयमा मैले भोगेको मानसिक यातना पनि कहिल्यै बिर्सन सक्दिनँ।’
शान्तिका पति बुद्धिमान तत्कालीन एमालेका जिल्लास्तरीय नेता थिए । दोलखाको ठूलोपाताल गाउँ विकास समितिका अध्यक्ष पनि। उनीहरूको ०५३ साल फागुनमा बिहे भएको थियो।
बुद्धिमानको हत्या हुँदा कान्छी छोरी प्रकृति शान्तिमायाको गर्भमा थिइन् । उनी अहिले १६ वर्ष पुगिन्। ११ कक्षामा पढ्दैछिन्।
‘त्यति बेला डेढ महिनाको पेट थियो। २०५९ मंसिरमा बाबाको हत्या भयो, २०६० असार १८ गते मात्र ऊ जन्मिई’, शान्तिमायाले भनिन्, ‘बुबालाई माओवादीले मारेको भन्ने उसले थाहा पाएको दुई वर्ष मात्र भो।’
बुद्धिमान मारिँदा दुई छोरी प्रीति र शीला पाँच र तीन वर्षका थिए। शान्तिमाया शिक्षक थिइन्। ‘कान्छी छोरीले अलि बुझ्ने भएपछि ‘हाम्रो बाबा खोई ?’ भनेर सोध्न थालिन्’, शान्तिमाया भन्छिन्, ‘म जवाफ दिन सक्दिनथेँ, त्यसै टार्थें । परिवारले विदेश गएको छ भन्थे।’
पछि फोनमा बोल्छु भन्न थालेपछि घटना लुकाउन अझ अप्ठेरो परेको उनले सुनाइन्।
उनी भन्छिन्, ‘बुबालाई माओवादीले मारेको उसले अरुबाट थाहा पाएकी रहिछ । उसले एक दिन सोधी– मेरो बाबा कहाँ हुनुहुन्छ, मामू ? सत्य के हो ? म नाजवाफ भएँ, केही बोल्न सकिनँ।’
‘जनयुद्ध दिवश’ मा थप पीडा ?
यति बेला माओवादी पार्टी एमालेमा गाभिएर नेकपा भएको छ । शान्तिका पति बुद्धिमान अध्यक्ष चुनिएको ठूलापाताल गाउँपालिका पनि जिरी नगरपालिकामा गाभिएको छ।
नेकपाको ‘जनयुद्ध दिवश’ मनाउने निर्णय शान्तिलाई मन परेको छैन। उनको मन अझै भत्भती पोलेको छ। पार्टीले कागजमा लेखे पनि उनको आत्माले जनयुद्ध स्वीकार गरेको छैन। ‘संविधानमा सशस्त्र द्वन्द्व लेखिएको छ भने म कसरी ‘जनयुद्ध’ भनेर मान्छु’, उनको तर्क छ।
शान्तिमाया समानता र न्यायका लागि कम्युनिष्ट पार्टीमा लागेकी हुन् । उनका पति बुद्धिमानले पनि यसै भन्ने गर्थे । उनी भन्छिन्, ‘कम्युनिष्ट पार्टीले त झूूठलाई झूठ सावित गर्नुपर्छ । सशस्त्र द्वन्द्वमा १७ हजार पाँच सयभन्दा बढी मान्छे मारिए। त्यसमा माओवादी पनि छन् । त्यसको उपलब्धि के भयो ? अब माओवादी सशस्त्र द्वन्द्व सरासर गलत हो भन्न सक्नुपर्छ ।’
शान्तिले दुःखले छोरीहरू हुर्काइन् । आफू पनि राजनीतिमा होमिइन् तर निर्दोष पतिको हत्या गर्नेले अहिलेसम्म उनी कहाँ आएर अपराध स्वीकार गरेको छैन। उनी व्यक्ति हत्या गर्ने र बलात्कार गर्नेलाई कहिल्यै उन्मुक्ति दिन नहुने अडानमा छिन् । उनले भनिन्, ‘जानाजानी व्यक्ति हत्या गरेको छ । क्षमादान कसरी दिन मिल्ला र ?’
पतिले बलिदान दिएको पार्टीसमेत मिलेर ‘जनयुद्ध दिवश’ मनाउँदा शान्तिमायाको मनमा एउटै प्रश्न उठेको छ, ‘मेरा पति बुद्धिमान पाख्रिनले के अपराध गरेका थिए र मारिए? दुईतिहाई बहुमतसहित नेकपाको सरकार छ । बुद्धिमानजस्तै अनाहकमा माओवादीबाट मारिने एमाले नेताका परिवारले कहिले न्याय पाउने?’