प्रतिनिधिसभाको बैठकमा दुई समितिको प्रतिवेदन पेश

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बिभिन्न दुई समितिको प्रतिवेदन पेश भएको छ। 

बैठकमा  महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरे। यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पनि पेश गरे।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’  पेश गरे।

यसअघि मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राखेका थिए। बैठकको अनुमतिपछि ती विधेयक बैठकमा पेश गरिएको हो। बैठकले पूर्वसांसद श्रीराम श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको छ। 

सभामुख अग्निप्रसाद सापकोटाले २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बोलाइएको छ। 

प्रकाशित मिति: : 2020-02-05 05:02:30

प्रतिकृया दिनुहोस्