उपसभामुख शिवमायाले भनिन- ६ गते बस्ने संसद बैठकमा राजीनामा दिन्छु

सत्तारुढ नेकपाभित्रको सभामुखको विषयलाई लिएर निकै रस्साकस्सी चलिरहेको छ। पार्टी अध्यक्षहरूले शिवमायालाई राजिनामा गराउाने र त्यसबाट रिक्त हुने उपसभामुखको पद प्रतिपक्षलाई दिएर सभामुखको पदमा आफ्नै पार्टीको अर्को कुनै व्यक्तिलाई ल्याउन चाहन्छन्।

ओलीले सुवास नेम्वाङलाई जिम्मेवारी दिनुपर्ने अडान लिएका छन् भने दाहालले अग्नी सापकोटालाई अगाडि सारेका छन्। यसबीचमा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले आफू स्वतः सभामुख बन्नुपर्ने अडान पनि राख्दै आएकी छन्।

यता नेकपा सचिवालयले उनलाई पदबाट राजीनामा दिन सुझाव दिएको छ। तर, उनले त्यसलाई ठाडै अस्वीकार गरेकी छन्।

सभामुखको विषयलाई लिएर नेकपाका अध्यक्षद्वयबीच चलिहरेको संघर्ष र उपसभामुखको अडानलाई लिएर नेपालको समाचार संस्था न्यूज एजेन्सी नेपाल (एनएएन) ले डा. शिवमाया तुम्बाहाङ्फेसँग गरेको कुराकानीको सम्पादित अंश:

अहिले संसदमा गतिरोध देखिएको छ। यो कहिलेसम्म रहन्छ?

यो गतिरोध कहिले अन्त्य गर्ने भन्ने निर्णय प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा छ।

संसद गतिरोधको एउटा पात्र तपाईं पनि हो। नेकपाले तपाईंको राजिनामा मागेको छ तर तपाईंले दिन मान्नु भएको छैन नी?

कुरा ठिकै हो। सभामुख पद रिक्त रहेको अवस्थामा प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्ने उपसभामुखले नै हो। त्यसकारण उपसभामुख केन्द्रविन्दुमा रहनु स्वभाविक हो। यसलाई अन्यथा मान्न मिल्दैन।

मैले पनि सञ्चार माध्यमबाटै थाहा पाएको हुँ नेकपाले राजिनामा दिन निर्देशन दिएको छ भनेर। तर, एउटा स्वतन्त्र संस्थाको नेतृत्व गरेको व्यक्तिलाई कुनै एक दलले नेतृत्वबाट बाहिर जाउ भनेर भन्न संविधानतः मिल्दैन। अहिले म एउटा स्वतन्त्र व्यक्ति हुँ। जतिबेला मलाई दलले उम्मेदवार बनाएर म निर्वाचित भएँ त्यस पछाडि मैले दल त्याग गरेकी छु। दलले निर्देशन दिँदा पनि अटेर गर्‍यो भन्ने पनि सुनेकी छु।

प्रतिनिधिसभा एउटा स्वतन्त्र संस्था हो। अहिलेको अवस्थामा त्यसको नेतृत्व मैले गरिरहेकी छु। नेतृत्व गरिराखेको व्यक्तिलाई कुनै एक दलले राजिनामा दिएर बाहिर निस्क भन्न मिल्दैन।

यदि दलले आफ्नो उम्मेदवार टुंग्यायो भने बैठकमा सभामुखको निर्वाचन प्रकृयालाई अगाडि बढाएर म राजिनामा गर्छु। त्यसपछि सभामुख र उपसभामुख पद खालि हुन्छ। निर्वाचन प्रकृया अगाडि बढ्छ।

त्यसो गर्दा प्रतिनिधिसभा छोटो समय मात्रै नेतृत्वविहिन रहन्छ। संविधान सबैभन्दा ठुलो हो। संविधानले निर्देशित गरेर राष्ट्र चल्छ, राज्य चल्छ। त्यस मातहत रहेर नै सबै दलहरु चल्नुपर्ने हुन्छ।

त्यसो त पूर्व सभामुख कृष्णबहादुर महरालाई पनि राजीनामा देउ भनेर नेकपाले निर्णय गरेको थियो। अहिले उपसभामुखलाई चाँही नमिल्ने?

प्रतिनिधिसभा एउटा स्वतन्त्र संस्था हो। दल एउटा संस्था हो। राजनीतिक दल पनि ऐन अनुसार दर्ता भएर चल्छ। प्रतिनिधिसभा संविधान मार्फत चल्छ। दललाई पनि संविधानले नै हिँडाएको हुन्छ। यी दुई संस्था फरकफरक ढंगले चल्ने हुन्। अहिले प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको नेतृत्व गरेको व्यक्तिलाई राजिनामा दिएर छोड भनेर पार्टीले निर्देशन दिन मिल्दैन्। निर्देशन उपसभामुखलाई दिन मिल्दैन तर सभामुखलाई मिल्यो किन भने उहाँ कुनै घट्नामा जोडिनु भएको थियो। फरक प्रसङ्गलाई फरकफरक तरिकाले नै बुझ्न जरुरी हुन्छ।

त्यसो भए राजीनामा दिनुहुन्न?

संविधानको धारा ९१ को उपधारा १ देखि ६ सम्म जाँदा प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ भनेको छ। त्यसमा पनि एक महिला अनिवार्य भनेको छ।

अहिले सभामुख पद रिक्त छ। म त्यहि दलले उम्मेद्वार बनाएर उपसभामुख बनेकी हुँ। सभामुख पद सत्ता पक्षले लिने भनेपछि मैले मार्ग प्रशस्त गर्छु भनेकी थिएँ। र अहिलेपनि भनिरहेकी छु। दलले राजिनामा देउ नभने पनि मैले दिनुपर्छ। निर्वाचन प्रकृया अगाडि बढाउने क्रममा मैले राजिनामा दिन्छु भनेर तयारी अवस्थामा बसेको थिएँ।

त्यसो भए राजीनामा दिन किन रोकियो त?

निवर्तमान सभामुख जो हुनुहुन्थ्यो उहाँ कुनै घटनासँग जोडिनुभयो र उहाँले राजीनामा दिनुभयो। मैले केही बदमासी काम त गरेको छैन् नि राजीनामा दिन। पाँच वर्ष काम गर्न पार्टीले पठायो। २ वर्ष बित्यो अब ३ वर्ष बाँकी छ। मैले कुनै फट्याईं गरेको छैन, बदमासी गरेको छैन, यौन दुराचार गरेको छैन्, भ्रष्टाचार गरेको छैन भने के चार्ज लगाएर मलाई दलले निकाल्न मिल्छ? यो कारणले गर्दा म सभामुख पदको दाबेदार हुँ।

तपाईंले पहिला नै राजीनामा दिँदा सहज हुन्थ्यो की?

मैले मार्गप्रशस्त गर्छु भनेर भनेकै छु। संविधानले प्रतिनिधिसभा नेतृत्व विहिन हुन्छ भनेर परिकल्पना गरेको छैन। नेतृत्व प्रदान गर भनेर मलाई सपथ खुवाएको छ।

दलले उम्मेदवार तय गरेर ल्याए पछि मैले राजिनामा दिन्छु। बैठक ६ गते १ बजे बोलाएकी छु। एक बजे अगाडि हामी बानेश्वरमा हुन्छौं। मसँग सबै तयार अवस्थामा हुन्छ। बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नुहुन्छ। र, उहाँलाई मैले मेरो राजिनामा दिन्छु। उहाँले पढेर सुनाउनुहुन्छ। त्यसपछि म एक सांसद मात्र हुन्छु। यो प्रकृया अपनाउँछु। जतिबेला संसद एकदम छोटो, केही मिनेट मात्र खाली हुन्छ। दिनको त कल्पनै नगरौं।

कत्तिको दबाब झेलिरहनु भएको छ?

मलाई कसैले केही दबाब दिएको छैन। पार्टी नेतृत्वले दबाब दिएपनि तपाईंले आफ्नो अडान छोडनु भएन, सहि काम गर्नुभएको छ। एउटा स्वतन्त्र संस्थालाई तपाईंले निरन्तर नेतृत्व प्रदान गर्नुस भन्ने कुरा पनि आइराखेको छ। यो प्रतिनिधिसभा प्रतिको माया हो।

प्रकाशित मिति: : 2020-01-15 00:37:14

प्रतिकृया दिनुहोस्