पुनर्निर्माण प्राधिकरणको कामबाट प्रधानमन्त्री सन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम सन्तोषजनक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिरणको परामर्श परिषद्को पाचौं बैठकमा पुनर्निर्माणको वर्तमान अवस्था एवं कार्ययोजनाको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मको पुनर्निर्माणको प्रगति सन्तोषजनक रहेको बताए।

उनले पुनर्निर्माणको काममा भएको अहिलेसम्मको प्रगतिका आधारमा तीन वटा निर्णय गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको धारणा राखे। कामको प्रगतिलाई लिपिबद्ध गरेर जानुपर्ने, बाँकी कामहरुलाई छिटो सम्पन्न गर्न देखिएका समस्या समाधान गर्नुपर्ने र प्राथमिकताका आधारमा पुनर्निर्माणमा जोड दिनुपर्ने विषयमा निर्णय गरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माण राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपदको क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको उल्लेख गरे। 

उनले समस्या र जटिलताहरुलाई समाधान गर्दै पुनर्निर्माण अघि बढेको बताउँदै पुनर्निर्माणलाई अझ प्रभावकारी अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न, काम गर्ने तरिकामा सुधार गर्न, सामाजिक जागरण बढाउन, संगठित संस्थालाई परिचालन गर्न, स्थानीय र प्राविधिकलाई अझ सक्रिय पार्न सुझाव दिए्। 

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माण, शिक्षण संस्थाहरु, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, पुरातात्विक एवं साँस्कृतिक सम्पदा, सडक तथा खानेपानी, सामाजिक आर्थिक पुनर्स्थापना, पुनर्निर्माणको दिगोपना र हस्तान्तरण तथा बजेट व्यवस्थापन र खर्चको विवरणका विषयमा भएका प्रगतिको जानकारी गराएका थिए।
 

प्रकाशित मिति: : 2020-01-11 10:11:34

प्रतिकृया दिनुहोस्