आज लर्ड्समा इंग्ल्यान्ड र अस्ट्रेलियाबीच १ सय ३७ वर्षको दुश्मनी देखिने

तस्वीरः एजेन्सी

विश्वका दुई प्रतिद्धन्दी टिम इंग्ल्यान्ड र अस्ट्रेलिया विश्व कपको निकै महत्वपूर्ण खेलमा मंगलबार भिड्दैछन्।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया जहाँ ६ खेलमध्ये ५ मा जित दर्ता गर्दै १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ, त्यही ६ खेल खेलेको इंग्ल्यान्ड ६ मध्ये ४ मा जित निकाल्दै ८ अंकका साथ चौथो स्थानमा छ।

क्रिकेटको घर मानिने लर्ड्समा आयोजना हुने यस खेललाई इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको परम्परागत भिड्न्त एसेसको द्धन्दको रुपमा पनि हेरिएको छ। इंग्ल्यान्ड र अस्ट्रेलिया १ सय ३७ वर्षदेखि एसेस खेल्दै आइरहेका छन्।

फेरि विश्व कपपछि दुवै टिमबीच एसेस शृंखला हुँदैछ। इंग्ल्यान्डले सन् १९९२ को विश्व कपदेखि अस्ट्रेलियालाई हराउन सकेको छ्रैन। त्यतिबेला इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो। त्यसयता अस्ट्रेलियाले ३ पल्ट इंग्लिस टोलीलाई पराजित गरेको छ।

अस्ट्रेलिया यो विश्व कपमा पहिले जस्तो संगठित देखिदैन्। त्यसैले इंग्लिस दर्शकको हुटिङ अगाडि यसपालि इंग्ल्यान्डलाई पराजित गर्न कङ्गारु टोलीलाई सोचे जस्तो सजिलो छैन।

गत विश्व कपमा एरोन फिन्चको १ सय ३५रनको उत्कृष्ट इनिङका कारण अस्ट्रेलिया विजयी भएको थियो। यसपालि फिन्च टोली कप्तान छन्। गत विश्व कप खेलेका इंग्ल्यान्ड र अस्ट्रेलियाली टिममा ५–५ खेलाडी समावेश छन्।

गत विश्व कपमा इंग्ल्यान्डबाट मोइन अली, जो रुट, इयोन मोर्गन , क्रिस वोक्स र जोस बटलर समावेश थिए। यस्तै, अस्ट्रेलियाबाट फिन्च, डेभिड वार्नर, स्मिथ, मिशेल स्टार्क र ग्लेन मेक्सवेल समावेश थिए।

अस्ट्रेलिया र इंग्ल्यान्डले हालसम्म विश्व कपमा ७ वटा खेल खेलेका छन्। जसमा अस्ट्रेलिया ५ र इंग्ल्यान्ड २ खेलमा विजयी छ। १ सय ४७ एकदिवसीयमा पनि अस्ट्रेलियाले ८१ र इंग्ल्यान्डले ६१ खेल जितेको छ।

हाल अस्ट्रेलियाको टोलीमा वार्नर फर्ममा छन्। उनले जारी विश्व कपमा ४ सय ४७ रन बनाइसकेका छन्। उनको नाममा २ सतक र २ अर्धसतक छ। यस्तै, स्टार्कले पनि ६ खेलमा १५ विकेट लिइसकेका छन्। गत विश्व कपमा स्टार्कले इंग्ल्यान्डविरूद्ध २ विकेट लिएका थिए।

इंग्ल्यान्डबाट पनि जो रुटले उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। उनले ६ खेलमा ४ सय २४ रन बनाइसकेका छन्। जसमा २ सतक समावेश छ। इंलिस बलर जोफ्रा आर्चरसँग एकदिवसीयको ९ खेलको मात्र अनुभव छ। तर, उनले विश्व कपमा १५ विकेट लिइसकेका छन्। त्यसैले आजको खेलमा अस्ट्रेलियाली ब्याट्सम्यानका लागि उनी टाउको दुखाई बन्न सक्छन्।

आजको खेल जितेको खण्डमा अस्ट्रेलिया विश्व कपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्ने छ। आयोजक इंग्ल्यान्डलाई भने सेमिफाइनलको समिकरण यथावत राख्न यो खेल जित्नै पर्ने आवश्यकता छ।

प्रकाशित मिति: : 2019-06-25 11:06:45

प्रतिकृया दिनुहोस्