मालिङ्गाको अगाडि इंग्ल्यान्डको बलियो ब्याटिङ धरासायी, श्रीलंकासँग २० रनले पराजित

अनुभवी बलर लासिथ मालिङ्गाको उत्कृष्ट बलिङको अगाडि घुँडा टेकेको आयोजक इंग्ल्यान्ड अप्रत्यासित रुपमा श्रीलंकासँग २० रनले पराजित भएको छ।

श्रीलंकाले पहिलो इनिङमा ९ विकेटको क्षतिमा बनाएको २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ४७ ओभरमा २ सय १२ रन बनाउँदै अलआउट भयो।

श्रीलंकाको जितमा अनुभवी बलर मालिङ्गा हिरो सावित भए। उनले ४ विकेट लिए।

मालिङ्गाले प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्टोलाई पहिलो बलमै गोल्डेन डकको शिकार बनाएपछि दबाबमा देखिएको इंग्ल्यान्ड कुनैपनि बेला उठ्न सकेन।

मालिङ्गाले अर्का प्रारम्भिक ब्याट्सम्यान भिन्से (१४), जोए रुट (५७), जस बटलर(१०) को पनि विकेट लिएका थिए।

इसुरु उदानाले २१ रनमा कप्तान इयोन मोर्गनको ‘सरप्राइज’ विकेट लिएपछि इंग्ल्यान्ड झन् दबाबमा देखिएको थियो।

अलराउन्डर बेन स्ट्रोकले अविजित रहँदै ५७ रन बनाएपनि उनले आफ्नो टिमलाई जित दिलाउन सकेनन्।

मालिङ्गापछि अफस्पिनर धनन्जय डि सिल्भाले इंग्लिस ब्याट्सम्यानको कम्मर भाँचेका थिए। उनले तीन विकेट लिए। उदानाले मार्क उडको विजयी विकेट पनि लिए। उनले २ विकेट लिएका थिए।

यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाले एञ्जेलो म्याथ्युजको अविजित ८५ रनको सहयोगले दुई सय रनको योगफल पुरा गरेको थियो।

खेलको ‘म्यान अफ दि म्याच’ मालिङ्गा घोषित भए। इंग्ल्यान्डले २० वर्षदेखि आफ्नो टिमलाई जित्न नसकेको कीर्तिमानलाई श्रीलंकाले यथावत राखेको छ।

प्रकाशित मिति: : 2019-06-21 23:13:43

प्रतिकृया दिनुहोस्