निर्मला पन्त हत्या प्रकरणमा नयाँ ट्विष्ट : अनुसन्धानमा खटिएका प्रहरीलाई पत्रकारले पठाएका थिए यस्तो एसएमएस

फोटो: बिएल

घटना २०७५ साल भदौ ४ गत साँझ ७ बजेर ५६ मिनेटको हो । निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेका एसपी डिल्लीराज बिष्टको मोबाइलमा मेसेजको घन्टी बज्छ।

हतार हतार गोजीमा रहेको मोबाइल निकाल्छन् उनी।

मेसेज मोवाइलमा सेभ गरिएको नम्बरबाटै आएको हुन्छ। बिष्टले मेसेज खोल्छन्।

मेसेज थियो- "फर योर काइन्ड इन्फर्मेसन दिलिप इज माई साला'।

यो मेसेज लेख्ने को थिए? कसलाई लेखेका थिए? अनि किन लेखिएको थियो? को थिए दिलिप? मेसेज आएको करिव ८ महिनासम्म खाेजबिन नै नभएको यो मेसेजका बारेमा नयाँ शिराबाट खोजबिन सुरू भएको छ। योसँगै निर्मला पन्त हत्या प्रकरणमा नया ट्विष्ट आएको अनुमान गरिदैछ । 

मेसेजमा साला भनेर लेखिएका व्यक्ति गत साउन ११ गते कञ्चनपुरको भिमदत्तनगरपालिका बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले सार्वजनिक गरेका व्यक्ति दिलिपसिंह विष्ट हुन्। प्रहरीले विष्टलाई भदौ २ गते कञ्चनपुरबाट पक्राउ गरी त्यसको दुई दिनपछि भदौ ४ गते हत्या अभियोगमा सार्वजनिक गरेको थियो।

प्रहरीले दिलिपलाई सार्वजनिक गरेको केही घण्टा बित्न नपाउदै एसपी डिल्लीराज बिष्टको मोबाइलमा यो मेसेज आएको थियो। अनि मेसेज गर्ने व्यक्ति एसपी डिल्लीराज बिष्टको मोबाइलमा खेम भण्डारीको नाममा सेफ भएको देखिन्छ।

खेम भण्डारी कञ्चनपुरबाट प्रकाशित हुने स्थानीय मानसखण्ड दैनिकका सम्पादक हुन्। खेमले एसपी डिल्लीराज बिष्टलाइ 'दिलिप बिष्ट' आफ्नो साला भएकाले छोड्न दबाव दिएको प्रहरीस्रोतले घटनालगतै पत्ता लगाइसकेको थियो।

 तत्कालिन एसपी डिल्ली बिस्टसँग भएको  टेक्स्ट सम्बाद

प्रहरीले पत्रकारले नै निर्मलाको हत्यारालाइ जोगाउन खोजेको कुरा सार्वजिनक गर्न थालेपछि पत्रकार भण्डारी पनि प्रहरीहरुसँग आदाप्रदान गरिएका मेसेज सार्वजनिक गर्दै प्रतिकारमा उत्रिएका छन्।उनले आफ्नो फेसबुक वालमा लेखका छन् 'सरकारी फोनको दुरुपयोग किन गरियो? म गलत हुँ भने सोझै कारवाही किन गरिएन? अहिले मात्रै लामो एसएमएसलाई डिष्ट्रोय गरेर किन पेस गरियो ? कुरा गम्भीर छ है!'

निर्मलाको हत्या भएको ८ महिना वितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन।प्रहरीले अभियुक्तको रुपमा सार्वजनिक गरेका विष्टको डिएनए नमिलेपछि छुटिसकेका छन्। मानव अधिकार आयोगले गठन गरेको समितिको प्रतिवेदनले निर्मलाको भेजिनल स्वावबाट निकालिएको भनिएको डिएनएमै शंका गर्दै पुन: चेक गर्न सुझाव दिएको छ।

तर प्रहरीले अहिलेसम्म डिएनएको बारेमा छानविन गर्न चासो दिएको छैन। कतै डिएनएमै कैफियत गराएर अभिुक्तलाई खुलेआम घुम्ने मौका त दिइरहिएको छैन?

त्यसो त दिलिप पक्राउ परेसगै कञ्चनपुरमा विरोधसमेत भएको थियो। तर, प्रहरी स्रोतका अनुसार पत्रकार भण्डारीको गलत प्रचारमा दिलिपसिंहको बचाउ भएको दावी छ। दिलिपलाई बचाउँनकै लागि पत्रकार भण्डारीले आफुहरुको चरित्रहत्या गर्दै आएको बम दिदी-बहीनीले बताउँदै आएका छन्।

यसैबीच निर्मला पन्त प्रकरणमा आफूहरुलाई अनावश्यक रुपमा जोडेर गाली बेइज्जती गरेको भन्दै घटनामा मुछिएकी बबिता भनिने अनिता बमले भण्डारीबिरूद्ध जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गरेकी छिन्।स्थानीय मानसखण्ड दैनिकका सम्पादक भण्डारीले निरन्तर चरित्रहत्या गर्ने उद्देश्यले समाचार प्रेषित गरेको उनको दाबी छ।

अदालतमा दायर गरिएको फिरादपत्रमा 'साउन ३० गतेको दैनिक मानसखण्डको अंकमा प्रकाशित ‘आज साँझ ब्ल्याक आउट’ शीर्षकको समाचारमा बम दिदीबहिनी र एसपी डिल्लीराज विष्टबीच सम्वन्ध रहेको र एसपी विष्टले बम दिदीबहिनीलाई निर्दोषको प्रमाणपत्र बाँड्दै हिंडेको' भन्ने लगायत समग्र समाचारको सारमा हामी दिदीबहिनीलाई किटानी दोषी करार गर्ने आशयको समाचार प्रकाशित गरेको, त्यसपश्चात पनि विभिन्न अंकमा हामीलाई किटानी दोषीकै रुपमा उल्लेख गरी समाचार लेखेका र २०७५ भाद्र ६ गतेको अंकमा सम्पादकीय नै लेखी हामीउपर निराधार आरोप लगाएको' दावी गरिएको छ।

यसैबीच निर्मला पन्तको आमाको भनाइ पनि फेरिएको छ। शुरुमा अरुको दवाव र कुरा नबुझिकन प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै प्रहरीमा उजुरी दिएकी निर्मलाकी आमा दुर्गादेवी उजुरी सच्याउन पटकपटक प्रशासनिक निकायमा धाइसकेकी छिन्। त्यसपछि उजुरी नसच्याउन स्थानीय समाजसेवी र केहि व्यक्तिले दुर्गादेवीलाई दवाव दिएको भिडियोसमेत बाहिरिएको छ।

दुर्गादेवी भन्छिन्- 'प्रहरीले लापरबाही गर्यो होला। तर, नक्कली अभियुक्त ल्यायो भनेर मैले उजुरी दिएको हैन। मेरा आत्माले दिलिपले हत्या नै गर्न सक्दैन भन्ने चाँहि लाग्दैन।' 

यसैबीच गत पुस ३ गते दुर्गादेवी र दिलिपसिंहका दाइले प्रहरीले लापरबाही र प्रमाण नष्ट गरेको अभियोगमा दायर भएको मुद्धामा किटानी गरिएका ६ जना प्रहरी धरौटीमा रिहा भएका छन्।

यसरी निर्मला पन्त प्रकरणमा ट्विष्ट आएको छ। र, पत्रकार खेम भण्डारीको मेसेस बाहिरिएसँगै फेरि एकपटक दिलिपसिंह विष्टतिर शंकाको सुई घुमेको छ। 

प्रकाशित मिति: : 2019-03-17 06:12:39

प्रतिकृया दिनुहोस्