भारत प्रशासित भूमि कश्मीरमा सन् २०१६ पछिकै सबैभन्दा ठूलो आत्मघाती हमला

फोटो: EPA

भारत प्रशासित कश्मीरमा एक गाडीको लस्करमा भएको लडाकु हमलामा कम्तीमा ४० जना अर्धसैनिक मारिएका छन्।प्रहरीले बताए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवान बोकेको बससँग ठोक्काइएको थियो।पाकिस्तानस्थित इस्लामिक समूह जैश-ए-मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ।

सन् २०१६ मा भारतीय सैन्य क्याम्प उरीमा भएको हमलापछि सुरक्षा फौजमाथि भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला हो।उक्त हमला, श्रीनगर शहरभन्दा २० किलोमिटरको दूरीमा बाक्लो सैन्य उपस्थिति हुने श्रीनगर-जम्मु राजमार्गमा भएको हो।

स्थानीय समाचारहरूमा जनाइए अनुसार हमलामा कैयौँ घाइते भएका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले ट्विट गर्दै घटनाको भर्सना गरेका छन्।

फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार आत्मघाती हमलापछाडि आफूहरू रहेको भन्दै जैश-ए-मोहम्मदले सञ्चारमाध्यमहरूलाई एक वक्तव्य पठाएको थियो।

सन् २०१६ को सेप्टेम्बर महिनामा भारतको उरीमा भएको एक लडाकु हमलामा कम्तिमा १७ जना भारतीय सेनाको मृत्यु भएको थियो।जसलाई पछिल्ला दुई दशकमा भएको सबैभन्दा भयानक हमला मानिएको थियो।दिल्लीले त्यसमा पाकिस्तानलाई दोषी देखाए पनि उसले भने त्यो अस्विकार गर्दै आएको छ।

भारत र पाकिस्तान दुवैले मुस्लिम बाहुल्यता रहेको कश्मिरलाई आफ्नो दावी गर्छन् तर केही क्षेत्रमा मात्र आफ्नो नियन्त्रण राख्छन्।

प्रकाशित मिति: : 2019-02-19 22:53:00

प्रतिकृया दिनुहोस्