७ महिना बित्दा पनि सुल्झिएन् बर्दियाको रहस्यमय हत्याकाण्ड, प्रहरीको भूमिका माथि प्रश्न?

बिएल

बर्दिया राजापुरका २२ वर्षीय दीपक धर्मसिंह विश्वकर्माको रहस्यमय हत्याको गुत्थी ७ महिना बितिसक्दा पनि नेपाल प्रहरीले सुल्झाउन सकेको छैन। विश्वकर्माको मृत्य शरीर जेठ ७ मा नेपाल–भारत सीमा नजिकै तिकुनिया बंदरिया जंगलमा फेला परेको थियो।

विश्वकर्मासँगै भारतमा किनमेलका लागि गएका दुई साथीहरू हरि तिमल्सिना र रोशन शर्मा घर फर्किएको तर उनी नफर्किएपछि शंका उत्पन्न भएको थियो।

परिवारको किटानी जाहेरीको आधारमा बर्दिया प्रहरीले तिमल्सिना र शर्मालाई घटनाको एक सातापछि पक्राउ गरेको थियो। तर, उनीहरू तारेखमा रिहा भइसकेको अवस्थामा अहिलेसम्म प्रहरीले बर्दियाको सबैभन्दा ठूलो ‘मर्डर मिस्ट्री’ सुल्झाउन सकेको छैन।

स्थानीयहरू प्रहरीको लापरवाहीकै कारण विश्वकर्मा हत्याको रहस्य हालसम्म नसुल्झिएको बताउँछन्। अझ परिवारको आरोप छ– प्रहरी अधिकारीहरु घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भन्दा पनि अपराधी चोख्याउने अभियानमा लागेका छन्।

विश्वकर्माको मृत्य शरीर जेठ ८ मा भारतको तिकुनिया बंदरिया जंगलबाट बरामद भएको थियो। भारतीय गोठालाले जंगलमा पात र दाउरा टिप्न जाने क्रममा विश्वकर्माको शरीर विभत्स अवस्थामा फेला पारेका थिए।

भारतीय सीमा प्रहरी बल (एसएसपी) र नेपाल प्रहरीको रोहवरमा परिवारले जेठ ८ मै विश्वकर्माको शरीर नेपाल ल्याएको थियो। नेपालमा उनको हत्याको छानवीन गर्नुको सट्टा प्रहरीले उल्टै हतारहतार दाहसंस्कार गर्न परिवारलाई दबाब दिएको थियो।

तर, परिवार र केही राजनीतिक दलको विरोधपछि स्थानीय प्रहरी विश्वकर्माको मृत शरीरलाई जेठ ९ मा टिकापुर लगेर पोस्टमार्टम गर्न राजी भयो। मृतकको शरीर छतविच्छेद भएका कारण पोस्टमार्टम गर्ने चिकित्सकले हात उठाएपछि थप अनुसन्धानका लागि काठमाडौं पठाउने निधो भएको थियो।

हत्याको रहस्य पत्ता लगाउन टिकापुरका डाक्टरले बिसरा विधिद्धारा अनुसन्धान गर्न विश्वकर्माको कलेजो, फोक्सो, आन्द्रा लगायतका अंगहरू काठमाडौं पठाएका थिए।

तर, अनुसन्धानका लागि काठमाडौं पठाएको ७ महिना वितिसक्दा पनि यसको रिपोर्ट आउन सकेको छैन। उल्टै स्थानीय प्रहरीले आरोपित तिमल्सिना र शर्मासँग सम्झौंता गर्न परिवारलाई दबाब दिइरहेका छन्।

विश्वकर्माका भिनाजु प्रविनसिंह विश्वकर्मा प्रहरी अनुसन्धानभन्दा पनि हत्याको कुरा मिलाउन लागेकोमा आश्चर्य प्रकट गर्छन्।

‘सँगै किनमेल गर्न गएको व्यक्ति मरेको अवस्थामा फेला पर्यो। अरु दुईजना फर्किएर आएका छन्। प्रहरी उल्टै हामीलाई उनीहरूसँग मिलेर जाओ भन्छ,’ हाल भारतको मुम्बईमा कार्यरत प्रविनसिंह भन्छन्।

प्रहरीले मृतक विश्वकर्माको झोला शर्माबाट बरामद गरेको थियो। तर, यो कुरालाई लामोसमय गुपचुप राखेकोमा प्रविनसिंहको ठूलो आपत्ति छ। ‘मेरो सालोको हत्या भएको छ। र, उसको सामान सँगै गएका व्यक्तिबाट बरामद हुँदा छानवीन गर्नुको सट्टा उल्टै प्रहरी हामीलाई मिल्नुपर्छ भनिरहेको छ,’ उनले भने।

स्थानीयले घटनाको दिन विश्वकर्मासँगै तिमल्सिना र शर्मालाई पनि देखेको बताउँछन्।

सँगै गएका तिमल्सिना र शर्माको मोबाइल प्रहरीले तत्कालै अनुसन्धानका लागि जफत गरेको भए तथ्य सुल्झिन सक्ने तर प्रहरीले यति सामान्य काम पनि नगरेको प्रविनसिंह आरोप लगाउँछन्।

‘मेरो सालोको मोबाइल अहिलेसम्म फेला परेको छैन। गाउँलेहरू घटनाको दिन हरि तिमल्सिना र रोशन शर्मा सँगै घुमिरहेको आफूहरूले देखेको बताउँछन्। प्रहरीले उनीहरूको मोबाइलको अनुसन्धान त्यति बेलै गरेको भए घटना स्पष्ट हुन्थ्यो। तर, त्यति पनि गरिएन। उल्टै हामीलाई मिल्न दबाब आइरहेको छ,’ प्रविनसिंहले भने।

विश्वकर्माको हत्या कैलाली र बर्दियाको नेपाल–भारत सीमा नजिकै पिलर नम्बर ९८ को एक किलोमिटर अगाडिको जंगलमा भएको थियो। मृतक विश्वकर्मा अविवाहित थिए।

प्रकाशित मिति: : 2019-11-24 07:45:57

प्रतिकृया दिनुहोस्