पहिरोपीडितलाई घर हस्तान्तरण

प्रवासीहरुको सहयोगमा म्याग्दीको जलजला गाउँपालिकाका पहिरोपीडितहरुको घर पुनःनिर्माण भएको छ।

अन्तरराष्ट्रिय पर्वत समाजको सहयोगमा पुनःनिर्माण भएका तीन वटा घर शनिबार एक समारोहका बीच पीडितलाई हस्तान्तरण गरिएको छ।

वडा नं ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा नं ७ धाइरिङका भीमलाल आचार्यको घर निर्माणमा समाजले सहयोग गरेको हो।
समाजका अध्यक्ष पुरन गिरी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, उपाध्यक्ष सीमा गर्बुजा पुनले घरको शिलालेख अनावरण गरेर घर हस्तान्तरण गरेका छन्।

समाजले सिमेन्ट, जस्तापाता, रड, ब्लक, बालुवालगायत निर्माण सामग्री खरीद गर्न सहयोग गरेको हो। नौ लाख रुपैयाको सहयोग गर्ने सम्झौता भएकामा रु १४ लाख १९ हजार ४३५ खर्च भएको वडाध्यक्ष हरिविकास जिसीले बताए।

समाजले प्रतिपरिवार थप रु एक÷एक लाख सहयोग उपलब्ध गराउने जनाएको छ।
निर्माण सामग्री पाएपछि थप लगानी गरेर घर बनाएको पहिरोपीडित वुद्धि परियारले बताए। दुईकोठे भवन र शौचालयसहितको घर बनाइएको हो।

यसअघि पोखराको असल छिमेकी नेपालको रु ७९ लाख २८ हजार सहयोगमा बेरनेतामा १७, लस्तिमा सात र मिलनचोकमा एक वडा घर पुनःनिर्माण गरेर हस्तान्तरण भइसकेको छ।
विसं २०७५ साउन १ गतेको बाढीपहिरोले २५ घरमा क्षति पुगेको थियो भने एक जनाको ज्यान गएको थियो।
घर पुनःनिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकोमा पीडितहरुले खुशी व्यक्त गरेका छन्। केही पीडित त्रिपालको टहरा बनाएर बस्दै आएका थिए। रासस

प्रकाशित मिति: : 2019-10-06 09:23:47

प्रतिकृया दिनुहोस्