उपसमामुख सितामाया तुम्वाहाम्फे गाडीले बिहेमा हिडेको सर्वसाधारणको गाडीलाई ठक्कर दिएको छ। बिहेमा हिडेका सन्तोष निरौलासहित चारजना सवार गाडीलाई उपसभामुखको गाडीले शुक्रबार कोसी ब्यारेज क्षेत्रमा ठक्कर दिएको थियो।
निरौला चढेको बा ६ च १७२८ नम्बको हुन्डाई सेन्ट्रो कारलाई बा २ झ २८७३ नम्बरको उपसभामुखले प्रयोग गर्दै आइरहेको गाडीले ठक्कर दिएको थियो। उपसभामुखको गाडीमा तेह्रथुमका सांसद विजय सुब्बा सवार थिए। उनले निजी प्रयोगका लागि उपसभामुखको सरकारी गाडी प्रयोग गरेका थिए।
शुक्रबार राति १० बजेर ३० मिनेटतिर उपसभामुखको गाडीले ठक्कर दिएको जानकारी पीडित सन्तोषका दाजु प्रसन्न निरौलाले बिएल मिडियालाई दिए। उनले उपसभामुखको गाडीको ठक्करबाट आफ्नो भाई सवार गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको बताए।
बिहेमा प्रयोग हुने सामानसमेत क्षतबिक्षत भएको निरौलाले बताए । ठक्करपछि केही समय सांसद सुब्वाले आफ्नो गल्ती नभएको भन्दै उल्टै ठीक पार्ने धक्की दिएको निरौलाले बताए। भिआईपीको गाडी भन्दै यो कुरा बाहिर नल्याउन उनीहरुले दबाव दिएको पनि निरौलाले बताए।
प्रदेश ट्राफिक कार्यालय सुनसरी प्रमुख एसपी भीम दाहालले घटनाको पुष्टी गरे । उनले राति उपसभामुखको गाडीले सेन्ट्रोलाई ठक्कर दिएको पुष्टी गर्दै भने–आपसी मिलापत्रम गाडी छोडिएको हो। सेन्ट्रो गाडीमा सामान्य क्षति भएको थियो ।
तर, सन्तोष निरौलाले राति प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको जस्तो गरेर आफूहरुलाई पन्छाएर गाडी भगाएको आरोप लगाए । उनले भने– प्रहरीले आफूहरुलाई ठक्कर दिने गाडी नियन्त्रणमा लिएका छौं, तपाईहरु जानुहोस्। भोली बिहान आउनु होस भनेर पठाए । यो सरासर गलत कुरा हो ।
उनले कुनै मिलापत्र नभएको बताउँदै भएको भए देखाउन प्रहरीलाई चुनौति दिएका छन् ।
प्रकाशित मिति:
: 2019-10-05 19:53:32