यतिबेला नेपालीहरु महान चाड दशै मनाउन किनमेलमा व्यस्त छन्। वीरगन्जबासी पनि किनमेलको तयारी गरिरहेका छन्। तर, वीरगन्जको बजारमा भने मन्दी छ।
सिमापारीको रक्सौल बजारमा थामिनसक्नु भीड हुँदा पनि वीरगन्जको बजारमा शनिबार दिउँसोसम्म अधिकांश पसलमा एक जना पनि ग्राहक पुगेका छैनन्।
अरू समय भन्दा चाडपर्वको बेला बढी कारोबार हुनुपर्नेमा सोचे जस्तो नभएपछि व्यापारीहरुको निराश छन्।
भारतको रक्सौल बजार मुख्य नेपाली ग्राहकहरुकै चहलपहलले भरीभराउ देखिन्छ। तर वीरगन्जको बजारमा स्थानीय ग्राहकहरू पुग्न नसकेकाले ग्राहकको पर्खाइमा बस्नुपरेको घण्टाघरमास्थित सुपर मार्केटका व्यवसायी राधेश्याम साह बताउँछन्।
साह भन्छन्,'बिहान ८ बजे देखि पसल खोलेको तर ११ बजे सम्म पनि बोहनी भएको छैन।' वीरगन्जमा पन्ध्र सय पर्ने कुर्ता रक्सौलमा एक हजार नेपालीमा पाइने गरेको छ। भारतीयको तुलनामा नेपालीमा सामान महंगो पर्ने भएकाले आफूहरुको व्यापार नचलेको उनको गुनासो छ।
बाराको कलैयाकी बन्दना र उनका साथीहरु दशैको किनमेलको लागि रक्सौल बजार जाँदैछन् । 'रक्सौलमा सस्तो र मनपर्ने हरेक किसिमको कपडा पाइन्छ।' उनी थप्छिन्, 'घरको सामानहरु पनि उतै सस्तोपर्ने भएकाले त्यहाँ जान लागेका हौं।'
खुला सिमाना कारण नेपालीहरुलाई आवत जावतमा कुनै कठिनाई नहुने र २० रुपैया भाडा तिरेर ग्राहकहरु रक्सौल बजार पुग्न सक्छन्।
चाडपर्वमा कोट, पाइन्ट, सेरवानी, कुर्ता, साडी र लेहेगां जस्ता फर्मल पहिरनहरु बढी मन पराइन्छ। यस्ता पहिरनहरु बनाउने नेपालमा एउटा पनि गारमेन्ट उद्योग नभएकाले नेपाली व्यापारीहरुलाई छिमेकी मुलुक भारतको भर पर्नु परेको सुपर मार्केटका अर्का रेडिमेड कपडा व्यवसायी रबि कुशवाहाले बताए। 'नेपाल सरकारले गारमेन्ट उद्योग खोल्नको लागि उद्योगीहरुलाई प्रोत्साहन गर्नुपर्नुपर्छ,' उनले भने।
भन्सारबाट भारतीय कपडा भित्र्याउँदा कपडाको स्तर अनुसार ३५ देखि ४० प्रतिशतसम्म राजश्व तिर्नुपरेको कपडा व्यापारी बताउछन्। यस्तो अवस्थामा आफ्नै देशमा कपडा कारखाना खुले ग्राहकलाई सस्तो र सुलभ दरमा कपडा उपलब्ध गराउन सकिने, आफ्नै देशको व्यापार बढ्ने र नेपालीको कमाइ नेपालमै रहने उनीहरुको तर्क छ।
रक्सौल बजारमा वीरगन्जका स्थानीय मात्र नभई आसपासका जिल्ला लगायत मकवानपुर, चितवन, गोरखा र काठमाडौंका ग्राहकहरु समेत आउने गरेको भारतीय व्यापारीहरु बताउछन्। वीरगन्जको बजार भन्दा २५ प्रतिशतले सस्तो पाउने भएकाले ग्राहकहरु सिमा पारी नै जान रुचाउछन्।
वीरगन्जको आदर्श नगरका जुत्ताचप्पल व्यवसायी असलम आलमको पसलमा नेपाली तथा भारतीय दुबै कम्पनीको जुत्ता छन्। तर दिउसोसम्म उनको पसलमा एकजना पनि ग्राहक आएका छैनन्।
चाड पर्वको समयमा पनि ग्राहक नआउदा आफूहरुलाई मेन रोडको घरमा भाडा तिर्न समेत गाह्रो हुने गरेको उनको दुखेसो थियो।
कुनै पनि लेदरको जुत्तामा भन्सार शुल्क ५ सय रुपैया तिर्नु पर्ने भएकाले आफूहरुलाई ५ सयमा खरीद गरेको जुत्ता भन्सार शुल्क र अन्य शुल्क जोडेर १३ सय देखी १५ सय सम्ममा बेच्नु पर्ने बाध्यता रहेको आलमले बताए। 'ग्राहक हाम्रोमा हेर्ने त आउँछन् तर किन्न रक्सौलको बजारमा पुग्छन्। किनभने उता सस्तो दाममा पाइन्छ,' उनले आफ्ना पीडा ओकले।
यता सिद्धि विनायकका सञ्चालक रन्जित गुप्ता भन्छन्, 'सबको लागि दशैं लागे पनि वीरगन्जको व्यापारीलाई दशा लागेको छ।'
अहिले अनलाईन सपिङ्गले गर्दा पनि आफूहरुको व्यापार चौपट भएको उनले बताए। गुप्ताले भने 'वीरगन्ज भन्सारको करले पनि हाम्रो व्यापार हरेक वर्ष खस्कदै गएको छ।'
भन्सारले व्यापारीलाई सामान ल्याउन सहज वातावरण नबनाइदिँदा व्यापारीले सामान आफै नल्याई एजेण्ट मार्फत ल्याउनपरेको अवस्था छ।
चाडपर्वको बेला एकदिनमा सामान नभित्रिदा लामो समय कुर्नुपर्ने बध्यता व्यापारीको छ। यस्ता समस्या प्रति नेपाल सरकारले ध्यान दिनुपर्ने उनको भनाई हो।
भारतको रक्सौल बजार मात्र नभई सिमा नाकासँग जोडिएका सिक्टा बजार, आदापुर छौडादानो, घोडासहन र बैरगनीया लगायतका बजार मुख्यत: नेपाली ग्राहकहरुकै चहलपहलले भरीभराउ देखिन्छन्।
चाडबाडलाई मध्यनजर गरेर सरकारले नेपालमै सर्वसुलभ मूल्यमा उपभोक्तालाई चाहिने सामग्री खरिद गर्ने व्यवस्था नमिलाउँदा भारतीय बजार जानुपरेको उपभोक्ताहरु बताउँछन्। वीरगन्जमा व्यापार खस्कदैगए पछि व्यवसायीहरु पलायन हुन थालेका छन्।
वीरगन्जसँग सिमा जोडिएको भारतीय बजारमा दशै, तिहार र छठ पर्वमा मात्रै नभई अन्य समयमा पनि नेपाली ग्राहक बढी नै पुग्ने गर्छन्।