भदौ महिनाको अन्तिममा सुरू भएको भदौरे झरी भोलिदेखि सुधार आउने भएको छ।
मौसमविदहरूका अनुसार यो वर्ष वर्षामा मनसुन धेरै सक्रिय नभएकाले लगातार केही दिन पानी परेर सुख्खा हुने अनि पानी पर्ने क्रम देखिएको हो।
मनसुन देशको पश्चिम क्षेत्रको तुलनामा मध्य र पूर्वी भागमा बढी सक्रिय रहेको मौसमविदहरूले जनाएका छन्।
नेपालभरनै पानी परेको भए पनि महाभारत शृङ्खलामा बढी पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार अहिले परिरहेको पानी अस्वभाविक होइन। तर लगातार केही पानी पर्ने, अनि केही समय सुख्खा हुने अनि फेरि पर्ने क्रम जारी रहने उनले बताए।
यद्यपी बुधबारदेखि सुरू भएको पानी यो वर्षको अन्तिम बर्खेझरी नभएको उनको दाबी छ।
दुई तीन दिन यता मनसुनको उत्तरार्द्धतिरको झरी भोलिबाट क्रमिक सुधार भएर जाने उनले जानकारी दिए।
अझै पनि मनसुनी हावा बङ्गालको खाडीबाट आउने क्रम जारी रहेको भन्दै उनले भोलिबाट पानी रोकिए पनि फेरि प्रणालीमा परिवर्तन आएमा फेरि पनि पानी पर्न सक्ने सम्भावना रहेको औल्याए।
पहाडी भूभाग खासगरी चुरे र महाभारत शृङ्खलामा बहने खोला र नदीमा पानीको सतह बढेकोले ती क्षेत्रका बासिन्दाले सम्भावित जोखिमबारे सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।