स्वास्थ्यचौकी भवन जीर्ण भएर भुँइमा पानी जमेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । करीब २७ वर्षअघि निर्माण गरिएको भवन जीर्ण हुँदा वर्षात्को पानी छानाबाट चुहिने र भित्तातर्फको पर्खालबाट निस्कने पानी भुँइमा जमेर हिलाम्मे भएपछि सेवा प्रवाहमा समस्या भएको हो ।
जीर्ण भवनमा निरन्तरको वर्षाका कारण पानी जमेकाले टेबलकुर्सी यताउता सार्दै दैनिक सेवा दिइरहेको स्वास्थ्य सहायक सन्तोष भट्टराईले बताए। “जीर्ण अवस्थामा पुगेको भवनको कोठा पनि साँघुरो छ”, उनले भने, “त्यहीमाथि आकाशबाट परेको पानी जमेर हिलाम्मे बनेकाले सेवा प्रवाहमा समस्या भएको छ ।”
जीर्ण अवस्थामा पुगेको भवनको कोठासमेत होचो छ । भित्तासमेत लिपपोत गरिएको छैन । एउटा कोठाबाट बहिरङ सेवा तथा गर्भवती महिलाको गर्भ जाँच र अर्को कोठाबाट खोप तथा ड्रेसिङको काम सञ्चालन हुँदै आएको पाइएको छ ।
तत्कालीन गाविस अध्यक्ष राजकुमार राईको पहलमा विसं २०४९ मा निर्माण गरिएको भवनको तीन कोठामध्ये एउटा कोठाबाट प्रशासन र भण्डारणको काम गर्ने गरिएको भट्टराईले बताए। “भवनको कोठासमेत होचो छ”, उनले भने, “ढुङ्गा र माटोले बनेको भवनको भित्ता उप्किएर प्वाल परेको छ ।”
सुविधासम्पन्न भवन अभावमा गर्भ जाँचलगायत गोपनीयतासम्बन्धी सेवा प्रवाहमा ज्यादै कठिन भएको भट्टराईले बताए। स्वास्थ्यचौकीमा एक स्वास्थ्य सहायक, दुई अहेब र दुई अनमी कार्यरत छन् ।
स्वास्थ्यचौकीको नाममा चार आना मात्र जग्गा भएकाले स्थानीयवासीबाट निःशुल्क जग्गा जुटाउने तयारी भइरहेको वडाध्यक्ष डिल्लीकुमार राईले बताए। “नयाँ भवन निर्माण प्रक्रिया पनि थालिएको र आवश्यक जग्गा जुटाउने पहल भइरहेको छ”, उनले भने, “तत्कालका लागि वडाको रु दुई लाख र नगरपालिकाको रु पाँच लाखमा मर्मत गर्ने तयारी गरिएको छ ।”
घनाबस्ती रहेको खाल्लेस्थित स्वास्थ्यचौकीमा अहिले मौसम परिवर्तनसँगै दैनिक आउने बिरामीको चापसमेत बढेको जनाइएको छ । भवन अभावमा सेवा प्रवाहमा समस्या भएपछि अधिकांश बिरामीलाई जिल्ला अस्पताल सिफारिस गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य सहायक भट्टराईले जानकारी दिए।