जाजरकोट सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःख कष्ट भोग्दै आएका छन् ।
पाँच वर्षअघि यो खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन । यो बाटो यात्रा गर्दा आकाश हेरेर मात्र यात्रा गर्नुपरेको यात्रुहरु बताउँछन् । पानी पर्नेबित्तिकै गाडी जाँदैन, कसरी मन शान्त होला र ? नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले भने।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत पर्ने यो सडक निर्माण भएको पनि अहिले करीब ११ वर्ष बितेको छ । सडक कालोपत्र भएको पनि चार वर्ष बितेको छ । पुल निर्माणका लागि पाँच वर्षअघि ठेक्का सम्झौता भएको थियो ।
पासागाड खोलामा गलत डिजाइनका कारण पाँच वर्षदेखि पुल अलपत्र परेको हो । सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीको कारण पुल निर्माण अलपत्र परेको छ । परामर्शदाता कम्पनीले रु सात लाख लागतमा पुलको डिजाइन बनाएको कार्यालयले जनाएको छ । दुई वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अझै शुरु भएको छैन । परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणकार्य हुननसकेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए।
पुल निर्माणका लागि पाँच वर्षअघि रु तीन करोडमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौँले सडक विभागसँग सम्झौता गरेको थियो । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा काम शुरु नभएको डिभिजन प्रमुख भट्टले बताए। उनका अनुसार सम्झौताअनुरुपको लागत र निर्माणकार्यको तालमेलसमेत मिलेको छैन ।
प्राविधिकले तीन वर्षअघि निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको हो । सडक विभागले फेरि डिजाइन गरेर ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने निश्चित भए तत्काल काम शुरु गर्ने कम्पनीले जनाएको छ ।
आइएमई आरसी कन्सल्टेन्सीलाई नै पुलको ‘रि–डिजाइन’ गर्न लगाएर पुल निर्माण प्रक्रिया अघि बढाउन लागेको डिभिजन प्रमुख भट्ट भनाइ छ । दुई साताभित्र रि–डिजाइन स्वीकृतिका लागि विभागमा पेश हुने उनको भनाइ छ । स्टिमेट बदलिने तर ठेक्का नबदलिने उनको भनाइ छ । यो पुल निर्माण नहुँदा जाजरकोट मात्र होइन, छिमेकी जिल्ला रुकुमपश्चिम र डोल्पालाई समेत असर गरेको छ।