मोटरसाईकल दाईजो न पाएको झोकमा रौतहटमा एकजनाले श्रीमतिको हत्या गरेका छन्।
दाईजोमा माईतीबाट मोटरसाईकल न ल्याएको भन्दै रौतहटको राजपुर नगरपालिका–७ अकोलवामा २५ वर्षीया सन्जु देवीको हत्या भएको हो।
मोटरसाईकल नपाएको झोकमा ज्याई रामबाबुले छोरीको हत्या गरेको भन्दै मृतक सन्जुका बुबा अविलास सहनीले प्रहरीमा किटानी जाहेरी दिएका छन्।
सहनीले किटानी जाहेरीमा ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै सन्जुलाई पटक पटक कुटपिट गर्ने गरेको उल्लेख गरेका छन्।
रामबाबुले सालीको बिहेमा मोटरसाईकल दिएको तर आफुले नपाएको भन्दै छोरीलाई पटक पटक यातना दिने गरेको र सोही यातनाका कारण छोरीको हत्या भएको भन्दै सहनीले प्रहरीमा जाहेरी दिएका हुन्।
छोरीको गत बिहीबार दिउँसो मृत्यु भएको खबर पाएपछि त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको सहनीको दाबी छ।
केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाब दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीले जाहेरीमा भनेका छन्।
प्रहरीले घटनाको बारेमा अनुसन्धान भईरहेको जनाएको छ। सहनीको जाहेरीको आधारमा प्रहरीले मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको छ।