सरकारले तामझामका साथ मानव बेचबिखनविरुद्धको अभियान चलाईरहेका बेला बाँकेमा भने मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा सञ्चालन हुँदै आएको छ।
मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण तथा यसविरुद्धको अभियान सञ्चालन गर्ने सरकारी संयन्त्र क्रियाशील नहुँदा घटना न्यूनीकरणमा चुनौती थपिँदै गएको सरोकारवालाहरुको भनाई छ।
मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउनेदेखि लिएर, मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्लास्तरीय समितिको बैठक सञ्चालनसमेत गैरसरकारी संस्थाको अग्रसरतामा हुने गरेको छ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्लास्तरीय समिति क्रियाशील नहुँदा मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको अगुवाइमा हुने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए।
प्रमुख जिल्ला अधिकारीको जिम्मामा धेरै समिति हुने भए पनि मानव बेचबिखन तथा ओसारपसारविरुद्धको समितिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
“गैरसरकारी संस्थाले सोचेजति उपलब्धि हासिल गर्न नसके पनि पीडितको खोजतलासको निवेदन बुझ्ने र खोजतलासको प्रक्रिया अघि बढाउने काम गरिरहेका छन्”, उनले भने, “राज्यले पीडितले निवेदन दिने वातावरणसमेत बनाउन नसकेको अवस्थामा सङ्घसंस्थाले सहयोग गरिरहेका छन्।”
काम गर्ने संस्था बढे, समस्या घटेन
नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाको सङ्ख्या वर्षेनी थपिँदै गए पनि समस्या न्यूनीकरण हुनसकेको छैन। बाँकेमा मात्रै सरकारी कार्यालयसँगै करीब एकदर्जन गैरसरकारी संस्था कार्यरत छन् तर बेचबिखनका घटना भने वर्षेनी बढ्दो छ।
मानव बेचबिखनविरुद्धको अभियानमा काम गर्ने संस्थाको सङ्ख्या बढ्नु सकारात्मक भए पनि सहकार्यको अभावमा दोहोरोपना देखिँदा कहीँकतै समस्या हुने गरेको माइती नेपालका संयोजक कोइरालाले बताए। नेपालगञ्ज नाकामा मात्रै अहिले माइती नेपाल, साथी संस्था, शक्ति समूह, केआइ नेपाल, साना हातहरु, ज्ञान नेपाललगायतका गैरसरकारी सङ्घसंस्थाले मानव बेचबिखनविरुद्धको अभियानमा काम गरिरहेका छन्।
उद्धार संयन्त्रको अभाव
जिल्लास्तरबाट उद्दार संयन्त्र नहुँदा बेचबिखनमा परेका वा जोखिममा रहेका महिलालाई उद्धार गर्न समस्या हुने गरेको छ।
मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले सचेतना जगाउने र सीमावर्ती क्षेत्रमा जाँच तथा परामर्श गर्ने गरे पनि बेचिएका महिला उद्धार गर्न सकिरहेका छैनन्।
अभियान परियोजनामुखी
मानव बेचविखनविरुद्ध कार्यरत सङ्घ संस्था परियोजनामुखी भएका कारण पनि अभियान प्रभावकारी हुन नसकेको पाइएको छ। “मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्थाको सङ्ख्या बढेको बढ्यैछ, तर बेचबिखनका घटना घटेका छैनन्”, सेलर्डमा मानव बेचबिखनविरुद्धको परियोजना संयोजक भएर काम गरिसक्नुभएका अधिवक्ता पदम पाण्डेले भने,“अब हामीले गर्दै आएको तौरतरिका र काम कारवाहीमा परिवर्तन गर्नेतर्फ सोच्नुपर्ने भएको छ ।”
मानव बेचबिखनका घटना बढ्दो
मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन्।
साथी संस्थाका कार्यक्रम संयोजक शङ्कर शर्माले बढ्दो बिलासिलताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यमवर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको बताए।
मानव वेचबिखनविरुद्धको अभियान सञ्चालनमा राज्यले दायित्ववोध नगरेका कारण घटना न्यूनीकरण तथा उद्धारकार्यमा समस्या भएको उल्लेख उनको भनाई छ। रासस