एसिड प्रहारबाट गम्भीर घाइते बालिकालाई काठमाडौं ल्याउने तयारी

नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत मुस्कान खातुन। तस्बिरः बिएल

एसिड प्रहारबाट गम्भीर घाइते भएकी वीरगन्जकी १५ वर्षिया छात्रालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

रेशमकोठीस्थित त्रिभुवन उच्च मावी कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुनमाथि शुक्रबार बिहान ६ बजे एसिड प्रहार भएको थियो।

एसिड प्रहारबाट गम्भीर घाइते भएकी छपकैया २  निवासी १५ वर्षीय खातुनलाई उपचारका लागि तत्कालै नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको थियो।

छपकैया २  निवासी १५ वर्षीय मुस्कान खातुनमाथि स्थानीय दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार छात्राको एसिड प्रहारले शरीरको एक भाग पुरै जलेको छ। एसिड प्रहारबाट उनको मुख, हात, छाति र पाखुरामा गम्भीर घाउ लागेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

गल्लीमा रहेको एक शैलुनमा पहिलेदेखिनै बाटो ढुकेर बसेका दुई युवाले छात्रामाथि एकाएक एसिड प्रहार गरी भागेको प्रत्यदर्शीले बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रत्यक्षदर्शीका अनुसार ती छात्रा सोही बाटो भएर विद्यालय जाने क्रममा स्कुल ड्रेसमै रहेको बेला उनीमाथि एसिड प्रहार भएको थियो। एक्कासी उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए।

घटनामा संलग्न छपकैया निवासी संसाद मियालाई प्रहरीले पक्राउ गरिसमेको छ।  थप एक युवा माजिद मिया फरार रहेकाले प्रहरीले खोजी गरिरहेको प्रनाउ शर्माले जानकारी दिए।

यसैबीच पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदिप यादवले घाईते छात्राको परिवारलाई नगद ५० हजार प्रदान गरेका छन्।

वीरगन्जमा लाग्ने खर्च तथा बाटो खर्चको लागि केही रकम दिएको र काठमाडौं आएपछि थप सहयोग गर्ने उनले  जानकारी दिए।

प्रकाशित मिति: : 2019-09-06 10:32:24

प्रतिकृया दिनुहोस्