तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन्। जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ।
कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार आज मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ।
यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखिएको थियो।
डेङ्गुका बिरामीको दमौली र पोखरामा उपचार भइरहेको छ। व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भीमाद नगरपालिकाका व्यक्तिलाई डेङ्गुको सङ्क्रमण देखा परेको कार्यालयले जनाएको छ।
जनस्वास्थ्य अधिकृत भट्टराईले टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनुजस्ता लक्षण देखा परे नजिकको स्वास्थ्य कार्यालयमा परीक्षणका लागि जान अनुरोध गरेका छन्।
यसैबीच जिल्ला स्वास्थ्य कार्यालयमा बिहिबार बसेको बैठकले डेङ्गु रोगसम्बन्धी सचेतनाका लागि आइतबार सरोकारवालासहितको अभिमुखीकरण गर्ने निर्णय गरेको छ। जिल्लास्थित विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराएर डेङ्गु रोगसम्बन्धी सचेतना प्रदान गरिने भट्टराईले जानकारी दिए।