वीरगंजमा १३ औं मानव बेचविखन तथा ओसारपसार विरुद्धको सप्ताहव्यापी कार्यक्रम शुरु

बिएल

वीरगंजमा १३ औं मानव बेचविखन तथा ओसारपसारविरुद्धको सप्ताहव्यापी कार्यक्रम बिहिबारबाट शुरु भएको छ।

माइती नेपाल वीरगंजले कार्यक्रमको पहिलो दिन सीमा क्षेत्रमा भारत जान लागेका यात्रुहरुलाई,‘के तपाईको यात्रा सुरक्षित छ ?’भन्ने प्रश्नका सोध्दै संचेत बनाएको थियो।

सीमा नकटाउँदै यात्रुसँग यस्तो सवालले यात्रुहरुलाई सजग बनाउने कार्य भएको माइती नेपाल वीरगंज शाखा प्रमुख संगीता पुरीले बताइन्।

बिहीवार समुदाय प्रहरी साझेदारी अभियान पर्सा र माइती नेपालको लोगो सहितको संचेतनामुलुक ब्यानर भन्सार क्षेत्रमा लगाइएको छ।

गतसाता माइती नेपाल पर्साले प्रहरीसँगको विशेष सहयोगमा चेलीबेटी बेचविखन रोकथामका लागि विगतमा कार्यक्रम गरेको र सो कार्यक्रमको प्रतिफल वीरगंजबाट तीन दिनअघि दुई जना चेलीलाई उद्धार गर्न माइती नेपाल सफल भएको थियो।

वीरगंजबाट ३ किलोमिटर पश्चिममा रहेको श्रीसिया–पन्टोका नाकाबाट भारतमा गइरहेको अवस्थामा पूर्वी इलामको कोठी डाडा,रोङटीङ्ग –२ की अन्दाजी १८ र १९ वर्षीया दुई जना किशोरीलाई उद्धार गर्न माइती नेपालको सूचनाले पर्सा प्रहरीको सीमा प्रहरी चौकी छपकैयाको टोली सफल भएको थियो।

ती किशोरीहरु हाल माइती नेपाल वीरगंजको संरक्षणमा राखिएको तथा उनीहरुको अभिभावकको खोजी कार्य भइरहेको जनाइएको छ। माइती नेपालको कार्यक्रम अन्तर्गत सरकारको प्रतिबद्धता,मानव बेचविखन तथा ओसारपसारको नियन्त्रणमा हामी सबैको एकबद्धता भन्ने नाराका साथ भदौ २० गते शुक्रवार घण्टाघरबाट र्‍याली तथा सडक नाटकको आयोजना गरिने माइती नेपाल वीरगंजकी प्रमुख पुरीले जानकारी गराइन।

प्रकाशित मिति: : 2019-09-05 18:06:30

प्रतिकृया दिनुहोस्