गत महिनामात्र नेपाल प्रहरीले कतारबाट बच्चाको डाइपरमा रहेको बटनमा सुन लुकाएर ल्याउँदै गरेको एक तस्करलाई पक्राउ गरेको थियो। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले सबैलाई हैरान पार्ने सुन तस्करीहरूको अर्को प्रयोग पर्दाफास गरेको छ।
कतारको राजधानी दोहाबाट नेपाल आउँदै गरेका कास्कीका सन्तोषकुमार नेपालीलाई प्रहरीले ४ सय ग्राम सुनसहित पक्राउ गरेको छ। उनले त्यो सुन चक्कुको बिडभित्र लुकाएर ल्याएका थिए।
वैदेशीक रोजगारीको सिलसिलामा कतार गएका नेपाली बिदामा छुट्टी मनाउन घर फर्किएका थिए। उनी चक्कुको बिडभित्र सुन लुकाएर ल्याउँदै गर्दा पक्राउ परेका थिउ।
नेपाल एअरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएका नेपालीले साथमा बोकेको तरकारी काट्ने चक्कुको बिँडभित्र सुन फेला परेको हो।
बिमानस्थल प्रहरीले सुनसहित पक्राउ परेका नेपालीको विषयमा अनुसन्धान सुरु गरिसकेको छ।