कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामा लागेका व्यवसायी समस्यामा पर्न थालेका छन्। काठका भाडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख बिरुवा र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायी सङ्कटमा परेका हुन्।
वर्षौंदेखि काठ कुँद्ने पेशा गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले काठ कँुद्ने पेशाबाट पलाएन हुनु पर्ने अवस्था सिर्जना भएको बताए। १०÷१२ वर्षको उमेरदेखि बाबु बाजेले अङ्गाल्दै आएको पेशा आफूले पनि सम्हालेको बताउने विश्वकर्माले यतिञ्जेलसम्म यही पेशाबाट गुजारा चलेको भए पनि अब भने काठका सामान बिक्री हुनै छाडेकोमा चिन्ता व्यक्त गरे।
खासगरी काठबाट ठेका बनाउन विश्वकर्मा निकै खप्पिस छन्। ठेका कुद्ने कामलाई गाउँघरमा चुधाँरा पेशा भन्ने गरिन्छ। उनले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायतका ठाउँमा बिक्री हुने गरेकामा हाल आएर काठका सामानको बिक्रीमा कमी आएको छ।
केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक रु २५÷३० हजारसम्म आम्दानी गर्ने विश्वकर्माले पछिल्लो समय मेला पर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका बताए। अहिले मुस्किलले मासिक रु पाँच÷सात हजारमात्र कमाइ हुने गरेको बताउँदै विश्वकर्माले भने “प्लाष्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छोड्यो, अब त दुःख पनि उठ्दैन।”
बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामान बनाउने काठको अभाव हुनुले पनि परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ। मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेशा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारले बताएका छन्। विशेष गरेर काठका ठेका, ठेकी, मदानी, धुपौरा, चम्ठो ९तेल राख्ने भाँडो०, पुछै ९रक्सी खाने भाडो०, खुर्पेटोलगायतका सामान बनाउने गरेका विश्वकर्माले यी सामान बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गरेको बताए।