चोरीका मोबाइलसहित तीन पक्राउ

तस्बिरः बिएल

प्रहरीले भक्तपुरको जगातिबाट ५६ थान भन्सार छलिका मोवाईल ३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटीका २२ वर्षीय रामकुमार लामिछाने, सर्लाही मलङ्गवा नगरपालिका–४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जितकुमार पण्डित र भारत नयाँदिल्ली घर भई हाल काठमाडौँ महानगरपालिका–५ बालकुमारीमा फ्याल्ट भाडामा लिई बस्ने ३३ वर्षीय सत्य प्रकाश रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु चार हजार ८४०, नेपाली रु ६२ हजार ७४४ र नक्कली बिल प्याड बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए।

नेपाल र भारतका विभिन्न स्थानबाट चोरी गरिएका मोबाइल सत्य प्रकाशले जम्मा गरी रञ्जितकुमारलाई बिक्री गर्ने र रञ्जितकुमारबाट उक्त सेटहरु लामिछानेले खरीद गरी बिक्री वितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले मोबाइल चोरीमा प्रयोग गर्ने भडीएल१सीजेट ४५५३ नंको भारतीय सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2019-09-04 07:19:53

प्रतिकृया दिनुहोस्