एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ ह्याकरको रकम साट्ने ३ नेपाली पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार ठमेल क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीले ठमेल स्थित डेस्को भन्ने मनिचेन्जरका देवनाथ लामिछाने सहित रोसन प्रधान श्रेष्ठ र रेवती भनिने एक युवकलाई नियन्त्रणमा लिएको हो।
शनिवार मायामनोहर होटेलबाट फरार भएका व्यक्तिहरुले मनिचेन्जरमा पुगरेर २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेको देखिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरीले शनिवार दिउँसो ५ जना ह्याकरलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट ह्याक गरी एटिएमबाट निकालेको १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको छ।