तीजको रौनक पशुपतिमा, ११ वर्षपछि खुल्यो पशुपतिनाथ प्रवेश गर्ने पूर्वी ढोका

तस्बिरः बिएल

आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज, नेपाली हिन्दु नारीहरुले आज उमामहेश्वरको पूजाराधना गरी तीज पर्व मनाउँदैछन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको लाम लागेको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।

विसं २०६५ देखि भक्तजनका लागि बन्द गरी जल ल्याउन मात्र उपयोग गरिएको पशुपतिनाथको पूर्वी ढोका आजदेखि सधैँका लागि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ११ वर्षदेखि पूर्वी ढोका भक्तजनका लागि बन्द थियो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार जल ल्याउन मात्रै पूर्वी ढोकाको खुला गरिएको थियो। ‘पूर्वी ढोका आजदेखि सधैंका लागि खुला गरिएको छ,’ उनले भने।

हरितालिका तीज पर्वको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरमा पूजाआजा र दर्शनका लागि भक्तजनको भीड छ। पूर्वी ढोका पनि खुला गरेपछि भक्तजनले अरूबेला भन्दा छिटो दर्शन तथा पूजा गर्न पाएका छन्।

तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव पार्वतीको पूजा आराधना गर्छन्। सत्ययुगमा हिमालयपुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहारा व्रत बसी महादेवको पूजा आराधना गरेपछि पतिका रुपमा प्राप्त गरेको विषय पौराणिक ग्रन्थमा व्याख्या गरिएको छ ।

प्रकाशित मिति: : 2019-09-02 12:21:58

प्रतिकृया दिनुहोस्