नेपालीहरुको महान चाँड तीज शिव–पार्वतीको विवाहको ऐतिहासिक प्रसंगसँग जोडिएको पर्व हो। तीजको चहल–पहलले नेपाली महिलालाई यतिवेला निकै व्यस्त बनाएको छ।
महिलाहरु विभिन्न बुटिकमा महङ्गा कपडा किन्ने, गहना बनाउने, अनि विभिन्न पार्टी प्यालेस, रेष्टुरेन्ट तथा सभाहलमा जम्मा हुने, दर खाने र नाचगान गर्नमै व्यस्त देखिन्छन्। केही वर्षयता कलेजले पनि तीजको अवसरमा विभिन्न कलाकार बोलाएर रमाईलो गर्न थालेका छन्।
यसले एकातिर महिलालाई संगठित भएर नाच्न, हाँस्न र मनका कुरा खोल्न हौसला मिलेको छ भने अर्कोतर्फ केही हदसम्म भड्किलो संस्कारको विकास भइरहेकाे भान हुन्छ।
याे पनि हेर्नुहाेस।
अरूलाई देखाउन मात्रै भए पनि राम्रै लाउनुपर्ने, गहना पनि सकेसम्म अरुको भन्दा धेरै ताेलाको बनाउन पाए हुन्थ्यो भन्ने चाहाना राख्दा महिला मात्र होइन, पुरूषलाई पनि मानसिक असर परेको देखिन्छ।
अरूको दाजोमा राम्राे कपडा नभएकाे खण्डमा श्रीमती बेखुसी हुन्छिन् कि? वा गहनाको जोहो गर्न नसक्दा झगडा हुन्छ कि? श्रमतीकाे यही गनगन सुन्नु पर्छ कि भन्ने मानसिक त्रास पुरुषमा परेकाे देखिन्छ।
तीजको विषयलाई लिएर युवा वर्ग, महिला अधिकारकर्मी तथा बृद्धबृद्धा सबैको आफ्नै तर्क छ।
पुरूषप्रतिको समर्पणसँग जोडिएको तीजलाई आफ्नो धर्म, संस्कृति तथा मौलिकता भित्र नबसी बाहिरी आडम्बर बढी गरिँदा यसले सकारात्मकभन्दा पनि समाजलाई नकारात्मक दिशातिर लैजाने होकि भन्ने चिन्ता बुढापाकामा देखिने गरेको छ।
याे पनि हेर्नुहाेस।
गुल्मी थोर्गा घर भएकी ९१ वर्षीया कुन्ति ज्ञवाली तीज पर्वको मौलिकता हराउँदै गएकोमा दुखेसो पाेख्र्छिन्। पहिला तीजमा भगवानप्रतिको आस्था र विश्वास बढी देखिन्थ्यो भने अहिले जनै पूर्णिमा सुरु नहुँदै दर खान हिड्ने, यो कस्तो चलन हो भन्दै उनी प्रश्न गर्छिन्।
यसैगरी महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझा अहिले बजारमा मनाइने तीजको ऐतिहासिक महत्व नभएको बताउँछिन्।
तीजलाई मसिनोसँग केलाउने हो भने यो वैदिककाल भन्दा अगाडिबाट जोडिएको पाइन्छ।
सतीदेविले विवाह पश्चात यज्ञकुण्डमा हामफालेर आत्मदाह गरेपछि भगवान शिव विवाह नगरी बसेका थिए। शिवमा असिमित ज्ञान र क्षमता थियो। विभेदविरुद्ध उनले सञ्चालन गरेको अभियान हेर्दा उनी समाज सुधारक देखिन्छन्।
त्यो समयमा आर्यकूल र अनार्यकूल बीच शक्ति सन्तुलन अथवा जातीय सम्वन्ध विकास गर्नको लागि पार्वतीले शिवजीसँग विवाह गरेकाे पाइन्छ। शिव र पार्वतीकाे विवाहले आर्य र मंगोल जातीलाई फयूजन गर्न महत्वपूर्ण भूमिका खेलेको ऐतिहासिक पृष्ठभूमि छ।
याे पनि हेर्नुहाेस।
हिमालयको छोरी पार्वतीले शक्तिशाली र क्षमतावान शिवजीसँग विवाह गर्न र उनी जस्तै समान हैसियत बनाउन साथीहरुको सहयोगमा लामो समय तपस्यामा बसेकाे पाैराणिक भनाई छ।
तर, हाल तीजकाे पाैराणिक पृष्ठभूमीसँग जोडिएको, पारिवारिक सम्बन्धको कुराहरु अहिले हराउँदै गएको महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझा बताउँछिन्।
उनकाे भनाई छ– तीज पर्व जातीय विभेद अन्त्यको लागि उत्तिकै महत्वपूर्ण छ। धार्मिक, सांस्कृतिक तथा जातीय महत्व बोकेको तीज पर्वलाई देखावटी, बनावटी र भडकिलो बनाएर मनाउनुभन्दा आफूले चाहेको कुरा पाउनको लागि पार्वतीले गरेको जस्तो त्याग समर्पण तपस्यासँगै अथक प्रयास गर्नु जरुरी छ।
हामीले तीज मनाउँदा शिव र पार्वतीसँग जोडिएको दाम्पत्य जीवन जस्तो एकअर्का बीच प्रेम र समर्पण हुनु आवश्यक छ। तीज पर्वको मौलिकता केलाएर हेर्दा पार्वतीले शिव जस्तो पति पाउँ भन्दा पनि शिवजीलाई पाउनको लागि गरेको त्याग, समर्पण र निराहर वर्तकाे बास्तविकतालाई बुझ्नु जरुरी छ।
याे पनि हेर्नुहाेस।
समानतासँग जोडिएको तीज पर्वले महिलामा भएको क्षमता, धैर्यता, आत्मविश्वास, समर्पण र लगनशिलताको तहलाई उजागर गर्न सकोस् र भोलीका दिनमा पुरुषको लागि महिला मात्र हैन, महिलाको लागि पुरूष पनि व्रत बसी एकअर्काप्रतिको माया प्रेम र विश्वासलाई अझ प्रगाढ बनाउन सकुन्। तीजको शुभकामना।