ट्राफिक प्रहरीले थाल्यो सडकमै चालकको आँखा र रक्तचाप परीक्षण

ट्राफिक प्रहरीले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा चालकको स्वास्थ्य परिक्षण थालेको छ। आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी कार्यालय तनहुँले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण गरेको छ।

लामो दूरीका सवारीसाधन र मालवाहक ट्रकका कारण धेरै दुर्घटना हुने गरेकाले दोस्रोपटक सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

दमौली अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १२६ चालकको आँखा र रक्तचाप परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए।

ती चालकमध्ये तीन जनाको आँखा कमजोर देखिएकाले थप उपचारका लागि सुझाव दिइएको उनले बताए।त्यस्तै १६ जना चालकको रक्तचाप उच्च देखिएकाले औषधि प्रयोग गर्न सुझाव दिइएको थियो ।

 

प्रकाशित मिति: : 2019-08-31 12:58:37

प्रतिकृया दिनुहोस्