‘सामूहिक गौहत्या गर्नेलाई कारवाही गरिनुपर्ने’

तस्बिरः बिएल

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सामूहिक गौहत्याको छानबिन गरी कारवाही गर्न माग गरेका छन।

मन्त्री राईले शुक्रबार विज्ञप्ति जारी गरी कानून विपरीत राष्ट्रिय जनावर गाईको हत्या गर्नु अपराध भएको भन्दै छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरे।

‘सामूहिक रुपमा गौहत्या गरिएको भनी स्थानीय जनताबाट आइरहेको अभिव्यक्ति र आक्रोश एवम् सामाजिक सञ्जालमा आएका समाचारका सम्बन्धमा अविलम्ब सम्बन्धित निकाय एवम् जिम्मेवारी पक्षमाथि छानबिन एवम् कारवाही हुन अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

गए राति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका र १५० वटा गाई घाइते अवस्थामा छन्।

हिन्दू धर्ममाथि प्रहार हुन खोजेको छः अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले हिन्दू धर्ममाथि प्रहार हुन खोजेको बताएका छन्।

नेपाल गृहस्थ धर्मसेवा सदन सामाखुशीले कुशे औँसीका अवसरमा शुक्रबार आयोजना गरेको ‘पिता सम्मान कार्यक्रम’मा उनले सनातनदेखि चल्दै आएको धर्ममाथि प्रहार हुन खोजेको बताए।

‘परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व हो’, उनले भने। अध्यक्ष राणाले धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाएको उल्लेख गरे।

पूर्वमन्त्री एवम् विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले जीवनमा लामो अनुभव भोगेका ज्येष्ठ नागरिकबाट समाजले पाठ सिक्नुपर्ने बताए।  ‘पिताको सम्मान गर्नु नै सबैभन्दा ठूलो पुण्य प्राप्ति गर्नु हो’, उनले भने।

 विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले बुबाआमालाई एक दिन मात्र सम्मान गरेर पर्याप्त नहुने बताए। ‘मन्दिरमा गएर मात्र धर्म मिल्दैन, दिन दुःखी, असहाय, गरीबको सेवा गर्नु धर्म हो’, उनले भने।

एक दशकपहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिए।

भक्तपुरमा गाई मारेको आरोपमा पक्राउ

गाई मारेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

गाई फार्मभित्र पसेर गाई मारेको आरोपमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरी महादेवस्थानबाट २५ वर्षीय चिरन पुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

खरिपाटी प्रहरी प्रभागको टोलीले उनलाई पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी पुरीले गाईलाई दाउराको चिर्पट र कोदालोले हानेर मारेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2019-08-30 23:41:00

प्रतिकृया दिनुहोस्