जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–८ र ६ मा रहेका तीन हजार गाँजाको बोट फडानी गरेको छ।
अवैधरुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको गोरखाका प्रहरी उपरीक्षक एसपी ओम अधिकारीले जानकारी दिए।
प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले वडा नं ६ को ढाँटगाउँ र ८ स्थित रानीवनमा बिहीबार गाँजा फडानी गरेको हो।
लागुऔषधविरुद्ध प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फडानीको काम तीव्र पारिएको एसपी अधिकारीले बताए।
लागुऔषधविरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्म कार्यक्रमअन्तर्गत स्थानीयवासीसमेतलाई सहभागी गराएर अभियान सञ्चालन गरिएको हो।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषधविरुद्धको कार्यक्रम सञ्चालन भइरहेको छ। अभियान निरन्तर चल्ने भन्दै
अबदेखि जसको जमीनमा गाँजाखेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने उनले बताए।