वडाध्यक्षद्वारा चकलेट चोरेको भन्दै रातभर यातना, कपाल मुण्डन गरेर गाउँ घुमाए

पीडित बालकहरू आफ्नो अभिभावकसँग। तस्बिरः बिमला गुप्ता/बिएल मिडिया

बारामा ३ जना नाबालकलाई चोरी गरेको आरोपमा वडा अध्यक्षले कुटपिट गर्नुका साथै कपाल मुण्डन गरेर गाउँ घुमाएका छन्।

किराना पसलबाट ३/४ वटा चकलेट चोरेको आरोपमा ३ जना नाबालकलाई पसले हिरा साह केशरीले कुटपिट गरी ती नाबालकलाई कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष राजेश्वर प्रसाद केशरी कहाँ लिएर गए।

वडा अध्यक्ष केशरीले अभिभावकसँग छलफल गर्नुको साटो ती नाबालकलाई सोही दिन रातभर आफ्नो घरमा थुनी शारीरिक र मानसिक यातना दिँदै बन्धक बनाएर राखेको नाबालकका अभिभावकले बिएल नेपाली सेवालाई बताए।

स्थानीय रामपुजन मण्डलका ९ वर्षिय छोरा रूपेश मण्डल, जग्गा पासवानका १० वर्षिय छोरा गुलसन पासवान र नथुनी साह गोढका ११ वर्षिय छोरा राहुल गोढलाई वडा अध्यक्ष केशरीले कुटपिट गरि कपाल मुण्डन गरेर गाँउ घुमाएको पूर्व गाविस उपाध्यक्ष सहिम हवारीले जानकारी दिए ।

त्यति मात्र नभई ती नाबालकको अभिभावकबाट १ हजारको दरले दण्डसमेत तिर्न लगाएको अभिभावकको भनाई छ।

कानुन विपरीत गई नाबालकमाथि कुटपिट गरी शारीरिक र मानसिक यातना दिने वडाअध्यक्ष केशरी र पसलेलाई कडा कारबाही गर्न अभिभावकहरुले माग गरेका छन्।

बालबालिकाको अपराध हेर्ने सम्बन्धित निकाय हुँदाहुँदै वडा अध्यक्ष केशरीले आफ्नो पद र बलको दुरूपयोग गरी नवालकमाथि यातना दिनु गलत भएको एमाले पार्टीका अर्का वडाअध्यक्ष लालबाबु महतोले बताए ।

यस विषयमा सम्बन्धित निकाय भने बेखबर छन्। कलैया उप महानगरपालिकाको बालबालिका अधिकार सम्बन्धि हेर्ने जिम्मेवार व्यक्ति तपसि चौरसियासँग यसबारे बुझ्दा आफूलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिए।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार अहिले यस विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै सत्य तथ्य खोजी पीडकलाई कारबाहीको दायरामा ल्याउने बताए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरसँग बुझ्दा अहिलेसम्म प्रहरी कार्यालयमा अभिभावकले उजुरी नदिएकाले दोषिलाई कारबाही गर्न समस्या भएको बताए। तर, कानुनलाई आफ्नो हातमा लिई नावालकमाथि  कुटपिट गरेको र मुण्डन गरिएको भेटिए दोषिमाथि कानुनी कारबाही हुने दाबी गरे।

यता ती बालकका अभिभावकले भने आफूहरू जिल्ला प्रहरी कार्यालय बाराको महिला तथा बालबालिका शाखामा जादा आफ्नो उजुरी नबुझेको र उल्टै हप्काएर पठाएको बताए।

प्रकाशित मिति: : 2019-08-28 21:14:45

प्रतिकृया दिनुहोस्