मध्य तथा सुदूरपश्चिममा वर्षेनी मनाउँदै आएको गौरा पर्वलाई पुराणको रोचक कथामाथि आधारित एउटा महत्वपूर्ण उत्सवका रूपमा लिइन्छ।
भगवान शिव र पार्वतीको पूजा आराधनामा आधारित यो पर्व गाउँगाउँमा घुमधाम साथ मनाउने गरिएको छ। दक्ष प्रजापतिकी पुत्री अर्थात् भगवान शिवकी अर्धाङ्गीनी सतीदेवीले आफ्ना श्रीमानको अपहेलना र निन्दा गरेको सहन नसकेर दक्ष प्रजापतिको यज्ञकुण्डमा आफ्नो इहलिला समाप्त पारेपछि हिमालय पत्नी मेनकाको गर्भमा जन्म लिन पुग्छिन्।
१० महिनामा जन्मिएकी कन्याको नाम गो अक्षरबाट जुराउन पुग्छन् ज्योतिषले। तिनै कन्या गौरी अर्थात पार्वती सानैदेखि शिवलाई पति पाउनका लागि तपस्यारत हुन्छिन्। उनको कठोर तपश्याबाट प्रभावित भएर भगवान् शिव प्रशन्न भई उनैसँग विवाह गर्न पुग्छन्।
यसै कथामा आधारित पर्व हो गौरा। यसलाई ठाउँ अनुसार गोःरा, गौरा, लोली गौरा आदि नामले पुकारिन्छ। लोलीको अर्थ हुन्छ लडेली, प्यारी अर्थात लाड प्यार पाएकी।
सुदूरपश्चिम कैलालीको धनगढीमा यो वर्ष पनि सधैझैं घुमधामका साथ मनाइयो गौरा महोत्सव। सुदूरपश्चिमको भाषा, संस्कृतिको पर्वधन र प्रचारप्रसार गर्ने हेतुले ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नामक संस्थाले महोत्सवको आयोजना गरेको थियो।
यही भदौ ७ गतेदेखि तीन दिनसम्म चलेको महोत्सवको उद्घाटन गरेकी थिइन प्रदेश सरकारकी पर्यटन तथा संस्कृति मन्त्री माया भट्टले। दोस्रो दिनको कार्यक्रमको उद्घाटन गर्न मञ्चमा देखापरेकी थिइन् नेपाली कांग्रेसकी नेतृ आर्जु राणा देउवा।
तेस्रो दिन अर्थात् पुरस्कार वितरण कार्यक्रमा सरिक थिए धनगढी उपमहानगरपालिकाका मेयर नृप वड।
पहाडी जिल्लाबाटसमेत ड्यौडियाहरूलाई बोलाएर आकर्षक ढंगले डेउडा प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा कञ्चनपुरकी लक्ष्मी गिरीको समूहले प्रथम स्थान हासिल गरेको थियो भने दोस्रो स्थानमा विजयी भएको थियो निङ्गला सैनी विद्यापीठ समूह।
त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल भयो तारानगर धनगढीकी लक्ष्मी बोहराको समूह। प्रतियोगिताको निर्णायक मण्डलमा थिए कवि तथा सांस्कृतिक अन्वेषक हेमन्त विवश, गायक भोजराज भाट र गायक जनक कार्की।
प्रतियोगिता हेर्नकै लागि आएका मानिसको निकै ठूलो भीड थियो खुलामञ्चमा । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १३ हजार र ११ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा डेउडा सम्राट चल्ले साई र संस्कृतिविद् देवकान्त पन्तलाई मरणोपरान्त सम्मान गरिएको थियो।
त्यस्तै प्राज्ञ वासुदेव पाण्डे, साहित्यकार गणेशराज जोशी, कवि तथा सांस्कृतिक अन्वेषक हेमन्त विवश, हुड्केली र छलिया नृत्यमा भीम आउजी, चिनाराम नेपाली र दृष्टि फाउण्डेसनकी कल्पना भट्टलाई दोसल्लासहित सम्मान पत्रप्रदान गरिएको थियो।
‘हाम्रो संस्कृति हाम्रो पहिचान’ संस्थाका पदाधिकारीमा अध्यक्ष सुरत रावत डोटेली कान्छालगायत अन्य पदाधिकारीहरु तोयानाथ भट्ट, दलबहादुर बोगटी, सुरेन्द्र संगम , प्रेम चन्द विवश, युवराज जोशी, मेघा भट्टका साथै गौरा कार्यक्रमका सदस्यहरु खगेन्द्र जोशी, जमुना साउँद, हरि भट्ट मञ्जु महता, भक्तराज जोशी,र गोविन्द साउदको खटाइ र संस्कृतिप्रतिको लगाव पनि उत्तिकै प्रसंसनीय थियो ।
गीत गाएर दर्शक श्रोतालाई मन्त्रमुग्ध तुल्याएका थिए गायिका माया पाण्डे, गायक टेक बोगटी, निर्मला कार्की र जनक कार्कीले। तीन चार हजार मानिसको भीड थियो धनगढीको खुलामञ्चमा।
सानैदेखि डेउडा गीतमा सरिक प्रतियोगितामा प्रथम भएकी लक्ष्मी गिरीको प्रदर्शनी निकै नै रोचक र उत्साहजनक थियो। आयोजक संस्थाका अध्यक्ष सुरत रावत (डोटेली कान्छा)को दौडधुप र गीतसंगीत र संस्कृतिका क्षेत्रमा गरेको कार्य प्रशंसायोग्य थियो।
हेर्नुहोस् थप तस्बिरमा