पूर्वराजदूज केशव झा हत्या प्रकरणः प्रमाण जुटाउँला त प्रहरीले?

तस्बिरः बिएल

हत्या तपाईँले गरेको हो?

पूर्वराजदूत केशव झाको हत्यामा संलग्न भएको आशंकामा गत वर्ष भदौं ४ मा नेपाल प्रहरीले काभ्रेको खोपासीबाट सानुकान्छा तामाङ नाम गरेका एक व्यक्तिलाई पक्राउ गर्‍यो।

हत्यालगत्तै घटनास्थल पुगेको प्रहरीसहितको तालिम प्राप्त कुकुरले सानुकान्छा सुत्ने गरेको कोठामा पुगेर संकेत गर्‍यो।

यसैको आधारमा प्रहरीले पनि अनुसन्धानका लागि उनलाई समातेर ल्यायो। 

छानवीनका क्रममा सानुकान्छाले लगातार आफू निर्दोष रहेको बयान दिए। प्रहरीसामू अर्को विकल्प रहेन्। उनीहरू पोलिग्राफ टेस्ट (साँचो बोलेको ओकल्ने मेशिन) गर्ने निर्णयमा पुगे।

यो पनि हेर्नुहोस् -शालिकराम आत्महत्या काण्डमा अल्पविराम लागेपछिहरि अधिकारी

सानुकान्छाको पोलिग्राफ टेस्ट पनि भयो। पोलिग्राफ टेस्टमा प्रहरीको प्रश्न थियो– हत्या तपाईँले गर्नुभएको हो?

यति बेला सानुकान्छाको उत्तर थियो–‘होइन’।

दबिएको स्वरमा उनले दिएको जवाफ यस पालि पनि प्रहरीले पत्याउन सकेन। कारण थियो, पोलिग्राफको रिपोर्ट।

पोलिग्राफ रिपोर्टमा सानुकान्छाले साँचो बोलेको ‘इन्डिकेशन’ आएन। अर्थात पोलिग्राफको रिपोर्टले भन्यो– उनले झुटो बोलिरहेका छन्।

कुकुरको इसारा पनि उनीतर्फ, पोलिग्राफको रिपोर्टले पनि उनीमाथि शंका गर्ने प्रशस्त ठाउँ दिएपछि थप संदिग्घ बनेका सानुकान्छाको  प्रहरीले नार्को टेस्ट पनि गर्‍यो।

प्रहरीले बिरलै प्रयोग गर्ने नार्को टेस्ट नेपालको पाटन अस्पतालमा मात्र सेवा उपलब्ध छ।

प्रहरीले अदालतको अनुमति लिएर सानुकान्छाको नार्को टेस्ट गर्‍यो। यसमा प्रहरीलाई खासै उपलब्धी हात लागेन। प्रहरीलाई अन्य प्रमाण जुटाउन गाह्रो पर्‍यो। 

यो पनि हेर्नुहोस्- भाइरल हुने बहानामा लोकप्रियता हराउँदै गयोः गायक शिरिष देवकोटा

अनुसन्धानले सानुकान्छालाई संकेत गरे पनि प्रमाणको अभावमा २० दिनभित्रै उनी प्रहरी हिरासतबाट छुटे।

एक वर्षअघि प्रमाणको अभावमा थुनामुक्त भएका उनै सानुकान्छालाई प्रहरीले दुई साताअघि पुनः नियन्त्रणमा लिएको छ। 

प्रमाणको अभावमा पहिले थुनामुक्त भएका सानुकान्छाविरूद्ध प्रहरीले अहिले कुन प्रमाण फेला पर्ययो, जसका कारण उनी एक वर्षअघिको मुद्दामा पुनः प्रहरीको नियन्त्रणमा पुगे? यो अहिले सबैका लागि कौतुहल र रहस्यमय बनेको छ।

प्रहरीको दावी छ, पूर्वराजदूत झाको हत्यामा सानुकान्छा नै संलग्न छन्।

एक वर्षअघि पूर्वराजदूत झाको हत्यामा परिवारले कसैविरूद्ध किटानी जाहेरी दिएको थिएन।

यो पनि हेर्नुहोस्- १६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

तर पनि प्रहरीले अनुसन्धानका लागि घरमा काम गर्ने सानुकान्छालगायत तीन जनालाई पक्राउ गरेको थियो।

उति बेला किटानी जाहेर नहुँदा र ठोस प्रमाणको अभावमा तीनै जनालाई छोड्नु परेको थियो।

हाल प्रहरीले मृतकका आफन्तको किटानी जाहेरीको आधारमा सानुकान्छालाई पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी अनुसन्धानकै क्रममा भएको कारण धेरै कुरा बोल्न नमिल्ने बताउँछन्।

बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘बिना कारण पक्राउ पनि पक्कै गरिएको छैन। विभिन्न कोणबाट अनुसन्धान हुदैंछ।’

पूर्वराजदुतको हत्या प्रकरणमा सानुकान्छालाई शंका गर्नुपर्ने पाँच मुख्य कारण रहेको अनुसन्धानमा सलंग्न अधिकारी बताउँछन्।

उनीहरूका अनुसार पहिलो कारण हो–आर्थिक लेनदेन। हत्या भएका पूर्वराजदूत र सानुकान्छाबीच पारिश्रमिकको विषयलाई लिएर झगडा थियो। लामो समयदेखि भान्सामा काम गर्दै आएका सानुकान्छाले पारिश्रमिक बढाइदिन माग गरेका थिए। तर उनको माग पुरा भएको थिएन।

दोस्रो कारण हो– पूर्वराजदूतको भान्सादेखि सुत्ने कोठासम्म अरु कसैको पहुँच थिएन, सानुकान्छा बाहेक।

यो पनि हेर्नुहोस्- साँच्चिकै स्वर्ग कैलाश, मानसरोवर

तेस्रो कारण हो– जुन चक्कुले पूर्वराजदुतको घाँटी रेटिएको थियो। त्यो चक्कु भान्सामा तरकारी काट्न प्रयोग हुने गर्थ्यो।

तीन दिनअघि मात्र सानुकान्छाले नयाँ चक्कु चाहियो भन्दै खरिद गरेर ल्याएका थिए।

चौथो कारण हो–हत्याको अघिल्लो दिन बिदेश उडेका छोराको कोठामा पट्याएर राखिएको सिरानी पूर्वराजदूतको हत्यास्थलमा फेला पर्नु। 

कुनै व्यक्तिलाई जाने अनुमति नभएको कोठामा बिदेश उडिसकेको छोराको कोठाबाट पट्याएर राखिएको सिरानी हत्या भएको ठाउँमा कसरी आयो?

यसले पनि सानुकान्छा तिरै अनुसन्धान सोझिएको छ।

पाँचौ कारण हो–हत्या भएको दिन घरको सिसीटिभी फुटेजमा बाहिरबाट कोही नआएको देखिनु। घरमा २ वटा कुकुर छन्, तिनीहरू पनि भुकेको घरका अन्य सदस्यलाई पत्तो छैन।

हत्या जस्तो जघंन्य अपराधमा आफ्नो सलंग्नता हत्तपत्त कसैले स्वीकार्दैनन्। तर, यो घटनाको गुत्थी प्रहरीले सुल्झाउन नसकेको अवस्थामा सानुकान्छालाई अपराधी मान्ने आधार पनि भेटिदैन।

यो पनि- मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञावली भन्छन्, ‘घटनाका वस्तुस्थिति हेर्दा सानुकान्छालाई शंका गर्ने ठाउँ रह्यो।’

प्रहरीले यसपालि आफूहरू निस्कर्षमा निस्किने दावी गरिरहेको छ। तर, विगतमा हलुका अनुसन्धान हुँदा केही अपराधी उम्किन सफल भएको उदाहरण पनि छन्। पूर्वराजदूत झाको हत्या प्रकरण पनि यसको अर्को सिलसिला नबनोस्।

प्रकाशित मिति: : 2019-08-28 08:41:49

प्रतिकृया दिनुहोस्