अदालतमा अस्मिता कार्कीको बयान- रवि, युवराज र अनिलले मेरो फोन र च्याटको दुरुपयोग गरे

बीएल

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रुकु भनिने अस्मिता कार्कीले सालिकराम र आफूबीचको सम्बन्ध बिग्रिएको जानकारी न्युज २४ बाट प्रसारण हुने ‘सिधा कुरा जनता’सँग का सबै सदस्यलाई पहिले नै थाहा भएको बयान दिएकी छिन्। 

पुडासैनीले आत्महत्या गर्नुभन्दा ४–५ दिनअघि न्युज २४ का क्यामेराम्यान अनिल ढुंगेललाई भेटेको बयान दिएकी छिन्।

उनले आफू र मृतक शालिकराम पुडासैनीबीचको गोप्य म्यासेज र केही ‘स्क्रिन सर्ट’ अनिललाई उपलब्ध गराएको बताएकी छिन्। ‘अनिलले शालिकराम र मेरो बीचमा सम्बन्ध बिग्रिएको जानकारी रवि लामिछाने र युवराज कँडेललाई पनि गराइसकेको मलाई बताएका थिए,’ अस्मिताको बयानमा उल्लेख छ।

रवि लामिछाने र अस्मिता कार्कीको बयान बाझियो: रविले भने–अस्मितालाई चिन्दीनँ, अस्मिताले भनिन्– रवि दाईलाई सबै थाहा थियो

अनिलले न्युज २४ को अफिसमा आफूलाई बोलाएर गेट अगाडि फोटो खिच्न लगाएको र आफूले त्यो फोटो शालिकरामलाई पठाएको बताएकी छिन्। अनिलले आफूसँग कुरा गर्दा शालिकरामसँग फोनमा कुरा भएको समेत बताएको बयानमा उल्लेख छ।

अनिलले शालिकरामसँग भएका कुराहरू नमेटाउन आग्रह गरेको अस्मिताले बताएकी छिन्। उनले आफ्नो म्यासेज र टेलिफोन वार्तामार्फत रवि लामिछाने, युवराज कँडेल र अनिल ढुंगेलले ‘ब्ल्याकमेल’ गरेको हुन सक्ने बताएकी छिन्।

प्रतिवादी रुकु भनिने अस्मिता कार्कीको बयान कागज

करीव एक वर्ष पहिले फेसबुक मार्फत निज शालिकराम पुडासैनीसँग चिनजान भई हामी बीच माया प्रेम बसेकोले हामी बीच फोन तथा म्यासेज मार्फत अन्तरंग कुराहरू हुने गथ्र्यो। निज शालिकराम अलि शंकालु स्वभावका थिए, जसका कारण बेलाबेला निजले मसँग झगडा गर्ने गर्थे र तिमिले मलाई छाडेमा म तिम्रो र मेरो बीच भएका कुराकानीका म्यासेजहरू सार्वजनिक गरी तिम्रो बेईज्जत गरी दिने र म बिष खाएर मरिदिने भनि मलाई दुःख दिने गरेका थिए।

वारदात भन्दा करीव ७–८ दिन पहिले मैले निज विवाहित भएको र मलाई झुटो बोलीरहेका छन् भन्ने कुरा थाहापाई निजलाई तिमीले मलाई फसायौं भनि गाली गरी, मेरो पिछा गर्न छाडीदेउ भनेकोमा निजले मलाई पटक पटक फोन गरी, बाटो समेत छेकी दुःख हैरानी दिन नछोडेकोले मैले सो कुराको जानकारी निज मृतकले पहिले काम गर्ने न्युज २४ को सिधाकुरा जनतासंग भन्ने कार्यक्रममा काम गर्ने प्रतिवादी रवि लामिछाने, युवराज कँडेल समेतलाई भनेमा निजहरुले शालिकरामलाई मेरो पिछा गर्नबाट छुटाई देलान भन्ने सोचि घटनाको ४–५ दिन पहिले उक्त टेलिभिजनका क्यामेराम्यान अनिल ढुंगेललाई फोन तथा म्यासेज गरी, भेटी प्रतिवादी रवि लामिछाने समेतलाई सो कुराको जनकारी गराई दिनु भनि म र मृतक शालिकराम पुडासैनी बीच भएका म्यासेजहरूका केही ‘स्क्रिन सर्ट’ हरु समेत निज अनिल ढुंगेललाई म्यासेज मार्फत दिएकी थिएँ र निजले भने बमोजिम मैले न्युज २४ को कार्यालय अगाडी उभिएको मेरो फोटो खिची निज शालिकराम पुडासैनीलाई पठाएकी थिएँ।

सो विषयमा निज अनिल ढुंगेलले प्रतिवादी रवि लामिछाने, युवराज कँडेल समेतलाई जानकारी गराएको भनेका थिए र पछि निज अनिल ढुंगेलले आफूले मृतक शालिकराम पुडासैनीलाई फोन गरी केही कुरा गरेको समेत भनेका थिए।

मैले केही म्यासेजका स्क्रिन सर्टहरु मृतकका फेसबुक साथीहरु कृष्ण थापा, प्रतिमा देवकोटा, विवेक भण्डारीसमेतलाई म्यासेज मार्फत पठाएकी थिएँ। सो पश्चात पनि निज शालिकराम पुडासैनीले मलाई पटक पटक फोन गरी रहेका थिए तर मैले निजको फोनलाई त्यति वास्ता गरिन।

रवि समर्थक 'उग्र' भएपछि चितवनको केही भागमा निषेधाज्ञा

मिति २०७६।०४।२० गते राती करीव १२ः३० बजेतिर निज अनिल ढुंगेलले मलाई फोन तथा म्यासेज गरी निज शालिकराम पुडासैनीसँग कुराकानी भएका कुनै पनि म्यासेजहरु डिलिट नगर्नु भनेका थिए। भोलीपल्ट मिति २०७६।०४।२१ गते बिहानको सिफ्टको डिउटीमै हुँदा निज शालिकरामको मृत्युको बारेमा सुनि थाहा पाएकी थिएँ।

पछि करिव १४ः३० वजेतिर न्युज २४ टिभीका अनिल ढुंगेल र दिपक बोहरा समेतले मलाई पटक पटक फोन गरी भेट्न र ५ मिनेटको भएपनि भिडियो बनाईदिन भनि रहेका थिए तर निजहरुसँग म भेट्न गईन, भेट भएन।

मृतकको मोवाईलबाट बरामद भिडियोहरु हेरे, सुने उक्त भिडियोमा निज मृतकले अस्मिता भन्ने रुकु कार्कीसंग रवि लामिछाने र युवराज कँडेल समेत मिली योजना बनाई जालझेल गरी मलाई आत्महत्या गर्ने बाध्यात्मक स्थितिको सिर्जना गरेकाले आफुले आत्महत्या गरेको भनेका रहेछन् तर मैले निजलाई यसरी आत्महत्या गर्ने सम्मको कुनै कार्य गरेको छैन, निजले मलाई झुटो आश्वासनमा दिई प्रेममा पारी फसाएको र निजको वास्तविकता थाहा पाई मलाई पिछा गर्न छाडी देउभन्दा समेत नमानेकाले निजलाई सम्झाई देलान भन्ने मनसायले मैले प्रतिवादी रवि लामिछाने समेतलाई भनि दिनु भनि न्युज २४ का क्यामेराम्यान अनिल ढुंगेल समेतलाई केही म्यासेजका स्क्रिनसर्टहरु दिएको हुँ।

मृतकसँग सम्बन्ध बिग्रिएपछी मैले अनिल ढुंगेललाई शालिकराम र मेरो बीचको म्यासेज र अन्य कुराकानी सेयर गरीदिएकी र सो पश्चात निज अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनाई निज शालिकराम पुडासैनी हतोत्साही हुने किसिमले ब्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ र सोही कारणबाट शालिकराम पुडासैनिले आत्महत्या गरेको हुनुपर्छ भन्ने समेत व्यहोराको अस्मिता भन्ने रूकु कार्कीको वयान कागज।

प्रकाशित मिति: : 2019-08-26 15:57:40

प्रतिकृया दिनुहोस्