मोरङको लेटाङ नगरपालिका–४ का जंगबहादुर तामाङ जेठ लागेपछि कानेपोखरीको जंगलमा प्रसस्त मात्रमा पाइने निगुरो टिप्न व्यस्त हुन्छन्।
पत्नी गीतासहित निगुरो टिप्न आउने उनी यही कामलाई असोजसम्म निरन्तरता दिन्छन् । उनको यो क्रम चलेको ११ वर्ष भइसक्यो । जंगलको निगुरो टिपेर बिक्री गर्दै राम्रो आम्दानी गरिरहेको तामाङ दम्पति जेठदेखि असोजसम्मको पाँच महिनामा वर्ष दिनलाई पुग्ने खर्च निगुरोबाटै जुटाउँछन् । ‘ज्याला मजदुरी गरेर कमाएको पैसाले खान, लाउन पुगेन,’ जंगबहादुरले भने, ‘निगुरोबाट कमाई हुन थालेपछि गुजरा चलाउन धेरै सजिलो भएको छ ।’
छ जनाको परिवार चलाउन एवं छोराछोरीलाई पढाउन निगुरोको व्यापारले सजिलो बनाएको उनको अनुभव छ । तामाङ दम्पतिले दैनिक दुई हजार रुपैयाँसम्म कमाई गर्ने गरेका छन् । जंगलबहादुरले भने, ‘जंगलकै निगुरो खोजेर बेच्दा राम्रोसँग परिवार चलाउन सकिएको छ ।’
स्थानीय सोममाया तामाङका अनुसार प्रत्येक वर्ष जेठदेखि असोजसम्म निगुरोको सिजन हो । निगुरो बेचेरनै मोरङको लेटाङ र कानेपोखरीका तीन सय बढी विपन्न परिवारको गुजारा चल्ने गरेको उनको भनाइ छ । उनी पनि विगत ११ वर्षदेखि निगुरो टिपेरै आफ्नो परिवार धान्दैछिन् । सोममायाले भनिन्, ‘सिजन बाहेक अन्य समय स्थानीय बासिन्दा निगुरोको विकल्प खोज्दै ज्याला मजदुरी गर्छन् ।’
स्थानीय प्रेमकुमार नेपालका अनुसार १० वर्षदेखि ७० वर्ष सम्मका बालबालिका र वृद्ध वृद्धाहरू निगुरो खोज्न दैनिक कानेपोखरी जंगलमा पुग्ने गरेका छन् । उनका अनुसार जंगलको निगुरोबाट मनग्य आम्दानी हुन थालेपछि स्थानीयको घरखर्च चलेको छ । कतिपयले लगानी र बचत पनि गरेका छन् । विगतमा सीमित मानिसहरुले टिपेको निगुरो खरिद गरेर अन्यत्र लैजानेहरु बढी भए पनि यस वर्ष निगुरो टिपेर बेच्नकै लागि आउनेको संख्या बढी छ ।
निगुरोको कारोबार बढेपछि जनसेवा सामुदायिक र कमलपुर सामुदायिक वन उपभोक्ता समितिले एक लाख २५ हजार रुपैयाँका दरले ठेक्कानै लगाएका छन् । उदय अधिकारी, बलराम राई र हिमाल राईले ठेक्का पाएका छन् । त्यही निगुरो गाडीमा हालेर ठेकेदारले विभिन्न सहर र काठमाडौंको कालीमाटीसम्म पु¥याउने गरेका छन् । पूर्वका विभिन्न सहरमा पनि निगुरोको माग उच्च रहेको ठेकेदार मध्येका अधिकारीले बताए ।
दैनिक निगुरो टिप्नका लागि आउने धेरै भएकाले पनि यस क्षेत्र निगुरो संकलन केन्द्रका रुपमा विकसित हुँदै गएको स्थानीय अभिशेक राईले बताए । उनका अनुसार स्थानीयले निगुरो टिपेर ल्याउँदै मुठा बनाएर ठेकेदारलाई साढे १२ रुपैयाँ प्रति मुठाका दरले बिक्री गर्छन । एक जनाले दिनमा एक हजार रुपैयाँसम्म कमाई गर्ने गरेको उनको भनाइ छ । राईले आर्थिक अवस्था कमजोर रहेको परिवार जंगलको निगुरोको साहरामा जीवन धानिरहेका छन् ।
लेटाङ–३ की अम्बिका विकले जंगलको निगरोबाटै छ जनाको परिवार चलेको बताइन् । निगुरोको सिजन सकिएपछि अरु बेला ज्याला मजदुरी गर्ने गरेको बताउँदै उनले भनिन्, ‘निगुरोले घर खर्च चलाउन, छोराछोरी पढाउन र विभिन्न ठाउँमा लागनी गर्न सजिलो भएको छ । ज्याला मजदुरीको पैसाले मात्रै जीवन धान्न कठिन भइरहेको थियो ।’
लेटाङकै सावित्रा विकले पनि जंगलमा त्यत्तिकै खेर गइरहेको निगुरो तरकारीका रुपमा बिक्री हुन थालेपछि परिवार चलाउन सजिलो भएको बताइन् । जेठदेखि असोजसम्म दैनिक परिवारका सबै जना निगुरो टिप्न आउने गरेको उनले बताइन् । उनले ज्याला मजदुरी गरेर परिवार चलाउन गाह्रो परिरहेका बेला जंगलको निगुरो गुजरा चलाउने भरपर्दो आधार बनेको जानकारी दिइन् ।
ठेकेदार मध्येका अधिकारीका अनुसार कानेपोखरी जंगलमा कानेपोखरी गाउँपालिका र लेटाङ नगरपालिकामा पर्ने सरकारी एवं सामुदायिक वन भित्र पाइने निगुरो टिप्नका लागि दैनिक ठूलो संख्यामा स्थानीय बासिन्दा भेला हुने गरेको बताए । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरुको गुजारा चलाउने गतिलो माध्यम जंगलको निगुरो बनेको अधिकारीको भनाइ छ ।
‘दशक अघि निगुरोको किनबेच नहुँदा बनीबुतो गरेर यहाँका मान्छेले जीविका चलाउने गरेका थिए,’ स्थानीय शुक्रराज लिम्बूले भने, ‘अहिले किनबेच सुरु भएपछि गुजरा चलाउन सबैलाई सजिलो भएको छ ।’ माग उच्च हुन थालेपछि जंगलबाट टिपिने निगुरो कानेपोखरीमा संकलन गर्दै पूर्वका विभिन्न सहर र काठमाडौंसम्म पु¥याउने गरिएको उनले बताए । कानेपोखरीको जंगलमा संकलन हुने निगुरो इटहरी, दमकल, बिर्तामोड, काँकडभिट्टा, विराटनगरदेखि काठमाडौं सम्मका सहरमा पुग्ने गरेको लिम्बूको भनाइ छ । लिम्बूका अनुसार जंगलबाट खोजेर ल्याउनेहरुले प्रति मुठा साढे १२ रुपैयाँ संकलन गरेकै ठाउँमा पाउँछन् ।
ठेकेदारले पिकअप गाडीमा राखेर निगुरो विभिन्न ठाउँमा पु¥याउने गरेका छन् । दैनिक सात गाडीसम्म काठमाडौंनै पुग्ने गरेको ठेकेदार अधिकारीले बताए । एउटा गाडीमा एक सय ५० क्यारेटसम्म निगुरो ढुवानी हुन्छ । एउटा क्यारेटमा ३० मुठा अट्छ । अधिकारीले भने, ‘निगुरो टिप्ने क्रममा चोटपटक लागेमा, बिरामी भएमा, सर्प वा कुनै किराले टोकेर उपचार गर्नु परेमा त्यसको आधा खर्च हामीले बेहोर्छौ ।’ उनले जंगलको निगुरोबाट स्थानीयले राम्रो रोजगारी पाएको जानकारी दिए ।
काठमाडौं पुर्याउँदा प्रति मुठा २५ रुपैयाँसम्ममा बिक्री हुने उनले बताए । एक गाडी निगुरो काठमाडौं पु¥याउँदा ७० हजार रुपैयाँ भन्दा बढी खर्च हुने गरेको जानकारी अधिकारीले दिए । उनले ठूला होटल तथा विभिन्न ठाउँहरुमा यसको माग धेरै रहेको जानकारी दिए ।
याे पनि पढ्नुहाेस।