प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन्। उनले आफूहरुकै सिफारिसमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए।
डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिका टिप्पणी भएजस्तो यथार्थ नभएको जिकिर गरे। प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निश्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको स्पष्टोक्ति थियो।
डा. शर्माले सिंगापुरमा रहँदा नेशनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले प्रधानमन्त्रीको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्नेका आवश्यक उपचार समेत गरिने बताए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले नेपाली जनताले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी पाउनुपर्ने बताए। विदेश उपचारमा जानैपर्ने भएपनि मेडिकल बोर्डलाई जानकारी गराएर जानुपर्ने पद्धतीलाई पनि नेपालका नेताहरुले आत्मसात नगरेकोमा उनको गुनासो थियो।