नेपाल दूरसञ्चार प्राधिकरणले अजयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरेको छ।
प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालका अनुसार हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट लिएको लाइसेन्स खारेज भएको हो।
आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको खनालले जानकारी दिए।
कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका भन्दै लाइसनेन्स खारेज गरेको हो।
प्राधिकरणले यसअघि कम्पनीलाई पटक पटक गरी भदौ १ सम्म नतिरे लाइसेन्स खारेज गर्ने चेतावनी दिएको थियो।
ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी २०६४ सालमा कम्पनीले लाइसेन्स पाएको थियो।
नेपाल स्याटेलाइटले मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको छ।
प्राधिकरणले लाइसेन्स खारेज गरे पनि ३५ दिनभित्र नेपाल सरकारसमक्ष कम्पनीले पुनरावेदन दिन सक्ने कानुनी प्रवधान रहेको छ। यसरी पुनरावेदनमा सरकारले निर्णय गरेर सुमार्गीको पक्षमा लाइसेन्स यथावत राखिदिन सक्नेछ।