सुन्धारामा एक महिलाले होटलको चौथो तलाबाट हामफालेर आत्महत्या गरेको विषय रहस्मयय भएको भन्दै प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
गत शनिबार ३८ वर्षिय दिलकुमारी गुरूङले नागराज होटेलबाट हाम फालेर मृत्यु भएको थियो।
उनी शुक्रबार होटेलमा कोठा लिएर बसेकी थिइन्। उनी श्रीमान् र सासुससुरासँगै होटेलमा पुगेको प्रारम्भीक अनुसन्धान देखिएको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी बासुवेद खतिवडालले जानकारी दिए।
प्रहरीले मृतकका श्रीमानलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यानमा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
मृतकका भाइले प्रहरीमा आफ्नै भिनाजु विरुद्ध किटानी जाहेरी दिएका थिए। ‘मृतकका भाइले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएका हौं,’ डिएसपी खतिवडाले भने।
प्रहरीले शुरुमा अनुसन्धानका लागि परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। परिवारका अन्य सदस्यलाई भने छोडिसकेको छ। ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं। हत्या आत्महत्या भन्ने कुरापछि अनुसन्धानमा खुल्छ,’ डिएसपी खतिवडाले भने।