एक प्रहरी जवान काठमाडौंमा मृत अवस्थामा फेला परेका छन्।
आइतबार राति महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्ना मृत अवस्थामा फेला परेका हुन्।
आइतबार राति करिब साढे १ बजे प्रहरी पुगेर हेर्दा शङ्कर खाटमा लडिरहेको अवस्था फेला परेका थिए।
घटनाबारे हामीलाई जानकारी आए लगत्तै घटनास्थल पुग्दा डोरी काटेर बेडमा लडाइरहेको अवस्थामा उनको शव थियो,’ महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले भने।
प्रहरीले कोठामा सँगै बसेकी एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
दार्चुला घर भएका जवान ठगुन्ना केही वर्षदेखि ती महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए।
ती युवतीसँग विवाद भएपछि उनले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको डिएसपी सुवेदीले जानकारी दिए। ‘बेलुकादेखि नै सामान्य विवाद भएको रहेछ। महिला पिसाब फेर्न गएको बेला आत्महत्या गरेको महिलाले बताएकी छिन्,’ डिएसपी सुवेदीले भने।
झ्यालमा पर्दा टाँग्ने डोरीमा सलको पासो बनाइ आत्महत्या गरेको देखिएको छ। प्रहरी नियन्त्रणमा रहेकी महिला विवाहित हुन्। तर, उनका पतिले केही समय अगाडि छोडेर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।