रविका समर्थक र प्रहरीबीच झडप : पाँच प्रहरी घाइते, १० शेल अश्रुग्यास प्रहार

चितवनमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लािछाने । तस्बिर : सामाजिक सञ्जाल

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ गरिएको विरोधमा उनका समर्थकहरू भड्केपछि चितवन अशान्त भएको छ । उनका समर्थक र प्रहरीबीच शुक्रबार साँझ झडप हुँदा कम्तिमा पनि पाँचजना प्रहरी घाइते भएको बताइएको छ ।

चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार रविलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयमा उनका समर्थकहरूले ढुंगामुढा र रड प्रहार गर्दा उनीहरू घाइते भएका हुन् । ढुंगामुढापछि रविका समर्थकहरूलाई नियन्त्रण गर्न प्रहरीले १० सेल अश्रुग्यास प्रहार गर्नुपरेको एसपी मल्लले बताए ।

बिहान १० बजेदेखि नै रविका समर्थकहरूले जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा उभिएर नाराबाजी गरेका थिए । भीड छिचोलेर रविलाई अगाडिबाट लैजान नसकिएपछि पछाडिबाट सरकारी वकिलको कार्यालय हुँदै अदालतमा लगिएको थियो । रविलाई जहाँ जहाँ लगिएको थियो, उनका समर्थहरू त्यही त्यही पुगेर विरोध प्रदर्शन गरेका थिए ।

रविलाई पाँच दिनको म्याद थपेर अपरान्ह ४ बजे प्रहरी हिरासतमै फर्काइएको थियो । त्यसपछि केही समय शान्त रहेको उनको समर्थकको भीड साँढे ६ बजेतिर एक्कासी उग्र भएर प्रहरी कार्यालयतिर ढुंगा र रड प्रहार गर्न थालेको थियो । 

 रविसँगै यही आरोपमा पक्राउ परेका उनका सहकर्मी युवराज कंडेल र नर्स अस्मिता कार्की पनि  प्रहरी हिरासतमै हेका छन् ।

उनीहरूलाई बिहीबार काठमाडौबाट नियन्त्रण गरी राति नै चितवनमा ल्याइएको थियो ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनीहरूको नाम मुछिएपछि काठमाडौं पुगेरै चितवन प्रहरीले रवि लामिछाने र अन्य दुईलाई पक्राउ गरेको थियो ।

तर, रविका समर्थहरू उनलाई नियोजित किसिमले फसाउन खोजिएको भनेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू रविको विनाशर्त रिहाइको माग गरिरहेका छन् । 

प्रकाशित मिति: : 2019-08-17 03:53:52

प्रतिकृया दिनुहोस्