तिब्बती शरणार्थीलाई नागरिकता दिएको आरोपमा पोखराका वडाध्यक्षसहित ३ पक्राउ

पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष रणबहादुर थापा

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा महानगरपालिका १८ का वडा अध्यक्षसहित तीन जना पक्राउ परेका छन्।

पोखरामै बस्दै आएका तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन सहयोग र सिफारिस गरेको आरोपमा वडा अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्चिकाधिकारी राजेन्द्र पौडेललाई शुक्रबार कास्की प्रहरीले पक्राउ गरेको हो ।

यसै घटनामा संलग्न अन्य ८ जनालाई कास्की प्रहरीले यसअघिनै पक्राउ गरिसकेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

यसअघि साउन २५ गते पक्राउ परेका उनीहरूमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। उनीहरुमाथि अनुसन्धान पछि वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

तिब्बती शरणार्थीसँग विवाह गरेर गएकी नेपाली नागरिकका सन्तानलाई पोखरा सराङकोट १८ का लेखबहादुर थापाले छोरी बनाएर नागरिकता बनाएका थिए।

तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीहरुलाई आफ्नै छोरी बनाएर लेखबहादुरले नागरिकता दिलाएको प्रहरीले दाबी गर्दै आएको छ।

लेखबहादुरका नातिनीहरु सरु र तासीआङ्मोले कास्की प्रशासनबाट जेठ २६ र असार ६ गते क्रमशः नागरिकता लिएका थिए ।

नागरिकता लिने दुवै शरणार्थी लेखबहादुरकै हुन् भनेर केही स्थानीयले सर्जिमनसमेत गरेका थिए।

लेखबहादुरकै छोरीहरु हुन् भन्ने आधिकारिक कागजमा सर्जिमन मुचुल्का गरेका स्थानीयहरू बेलबहादुर थापा, इमा थापामगर, सन्तोष थापामगर, ज्ञानबहादुर थापा क्षेत्री, कमल थापालाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको हो।

लेखबहादुरले छोरी दाबी गरेकाहरु छोरी नभएको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

नागरिकता बनाउन अन्तिम सिफारिस गर्ने वडा अध्यक्ष बल्ल पक्राउ परेका हुन ।

प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै उनीहरू तिब्बती हुन् भन्ने अध्ययनले देखाएपछि नागरिकता रद्द भइसकेको जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई झुटो विवरण पेस गरी नागरिकता लिएको शीर्षकको मुद्दामा कानुनी कारबाही हुनेछ।

लेखबहादुरकी छोरीले तिब्बती शरणार्थीसँग विवाह गरेकी हुन्। उनीबाट जन्मेका दुई छोरीलाई नेपाली नागरिकता दिएको खुलेको थियो। उनीहरूलाई वंशजको नागरिकता दिलाउन लेखबहादुरले झुटो विवरण पेश गरेको पाइएको थियो।

नातीनीहरूको नागरिकता बनाउन लेखबहादुरले सबै विवरणहरू झुटो बनाएको खुलासा भएको छ । सिफारिस पत्रमा नातीनीहरूको बाबु पनि लेखबहादुर नै उल्लेख गरिएको छ।

त्यस्तै जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरू र तासी आङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ।

झूटो विवरणका आधारमा नागरिकता लिएको उजुरीमाथि कास्की प्रशासनले छानबिन थालेको थियो ।

लामो समयपछिको छानबिन र अध्ययन पछि

उनीहरुलाई नागरिकता ऐन २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ। झुठो विवरण पेस गरी नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ।

कास्की प्रशासनले उजुरी आउनासाथै ती युवतीहरुको नागरिकता जफत गरेको थियो। नागरिकता लिएका दिदी बहिनीको उमेरको फरक केवल ७ महिना छ।

यही प्रकरणमा कास्की प्रशासनले ४ कर्मचारीलाई पनि विभागीय कारबाही सिफारिस गरेको छ।

 

प्रकाशित मिति: : 2019-08-16 18:20:07

प्रतिकृया दिनुहोस्