कतारको दोहास्थित जैदापार्कमा मंगलबार साँझ भएको एक सांघातिक आक्रमणमा एकजना नेपालीको ज्यान गएको छ । नेपाली राजदुतावास कतारका अनुसार मारिनेमा सुनसरीका तवरेज अन्सारी रहेका छन् । उनको शव हमाद अस्पतालमा राखिएको बताइएको छ ।
घटनामा पाँचजना घाईते भएका छन् । घाइतेमध्ये उमर अन्सारीको गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ भने इब्राहिम अन्सारी र नौसाद अन्सारीको खतरामुक्त अवस्थामा उपचार भैरहेको जनाइएको छ ।
प्रहरी हिरासतमा रहेका दुईजना घाइते अकबर मिया र मसुद अन्सारीलाई राजदूताबासको रोहबरमा छुटाइएको छ ।
घटनाका बारेमा स्थानीय प्रहरीले तदारूकताका साथ कारबाही अगाडि बढाएको र केही संदिग्ध व्यक्तिहरू पक्राउ गरिएको बताइएको छ । घटना के कारणले भयो त्यसको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
नेपाली राजदूताबास कतारले जारी गरेको प्रेस विज्ञप्तीमा भीडभाड भएको ठाउँ अत्यावश्यक काम परेमा मात्र सतर्कतापूर्वक जान अनुरोध गरिएको छ ।