त्रिशूली दुर्घटना अपडेटः मृतकको संख्या सात पुग्यो, २२ बेपत्ता

त्रिशूलीमा खसेको बस। तस्बिरः बिएल

धादिङमा शुक्रबार बिहान भएको यात्रु बस दुर्घटनामा मृतकको संख्या सात पुगेको छ।

सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटबाट बिहान सवा ३ बजेतिर त्रिशूली नदीमा खसेको थियो।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३, सलाङघाटस्थित त्रिशूली नदीमा बस खसेर दुर्घटना भएको हो ।

धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ७ जनाको शव भेटिएको छ।

मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास, सर्लाहीकै २५ वर्षीय विजय कुर्मी छन् । अर्का एकजना मृतकको भने सनाखत हुन सकेको छैन । उनीहरु तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो ।

चितवनको जुगेडीमा एक, मुग्लिनमा एक र देवघाटमा दुई जनाको शव फेलापरेको प्रहरीले जनाएको छ। उनीहरुको पनि सनाखत हुन सकेको छैन ।

बसमा ४५ जना सवार थिए । जसमा बसचालक र दुईजना सहचालक रहेको प्रहरीले जनाएको छ ।

सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको बसलाई क्रेनको सहायताले नदीबाट निकालेर किनारमा ल्याइएको छ । तर, बसभित्र कोही पनि नभेटिएको प्रहरीले जनाएको छ ।

बसमा सवारमध्ये २२ यात्री बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकामध्ये १६ जनाको जीवितै उद्धार गरिएको थियो। उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

कुरिनटारस्थित सशस्त्र प्रहरी बलको गोताखोर टोलीसमेत परिचालन गरेर दुर्घटनाका बेपत्ताहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

बसमा सर्लाहीको मलंगवाबाट चलानी हुँदा ३८ जना यात्री रहेको प्रहरीले जनाएको छ । बसका यात्रीकाअनुसार बाटोमा केही यात्री थपिएका थिए ।

प्रकाशित मिति: : 2019-08-09 13:03:54

प्रतिकृया दिनुहोस्